बाढीमा बेपत्ता भाइ सम्झिँदै भक्कानिए दाजु: ‘बिदा लिएर घर आइज, सँगै भेटौंला भनेका थिए’
काठमाडौं। रसुवाको स्याफ्रुबेँसीस्थित प्रहरी चौकीमा कार्यरत प्रहरी जवान हरेन्द्र यादव बाढीमा परी बेपत्ता भएका छन्। नवलपरासीको प्रतापपुर गाउँपालिका-८, डिबनी घर भएका यादव बाढी आएपछि सम्पर्कविहीन भएका हुन्।
बेपत्ता हरेन्द्रका दाजु सुरेन्द्र यादव पनि नेपाल प्रहरीमै कार्यरत छन्। हाल तनहुँमा कार्यरत सुरेन्द्रका अनुसार भाइसँग सोमबार अन्तिम पटक टेलिफोनमा कुराकानी भएको थियो। त्यसक्रममा हरेन्द्रले आफू घर जान लागेको जनाउँदै दाजुलाई पनि बिदा लिएर आउन आग्रह गरेका थिए।
“म घर आउँछु, तँ पनि बिदा लिएर आइज, सँगै भेट हुन्छ,” भाइसँग भएको अन्तिम संवाद सम्झिँदै सुरेन्द्रले भने।
सुरेन्द्रले पनि भाइलाई आफू भएकै ठाउँमा आउन र त्यहीँबाट दुवै जना सँगै घर जाने प्रस्ताव राखेका थिए। त्यसमा हरेन्द्रले ‘हुन्छ, हुन्छ’ भनेर जवाफ दिएका थिए।
भाइसँग सामान्य रूपमा भएको त्यही संवाद नै अन्तिम बन्न पुगेपछि सुरेन्द्र भावविह्वल बनेका छन्। सुरेन्द्रका अनुसार हरेन्द्रले प्रहरी सेवामा करिब १४ वर्ष बिताइसकेका छन्। दुवै दाजुभाइ नै प्रहरी सेवामा कार्यरत रहेकाले परिवारमा पनि उनीहरूको जिम्मेवारीप्रति गर्व थियो। तर, एकाएक बाढीमा परी भाइ बेपत्ता भएपछि अहिले सिङ्गो परिवार गहिरो चिन्ता र शोकमा डुबेको छ।
नेपाल प्रहरीले सार्वजनिक गरेको बाढी-पहिरोमा परी बेपत्ता भएका व्यक्तिहरूको सूचीमा हरेन्द्रको नाम पनि समावेश छ। उनको अवस्था अझै अज्ञात रहेकाले परिवारजन उनको खोजी तथा सकुशल उद्धारको आसमा पर्खिरहेका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment