बाढी प्रभावित क्षेत्र पुगेर अर्थमन्त्रीको ढाडस: “ढुक्क हुनुहोस्, स्रोतको अभाव हुन दिनेछैनौं”

डिसी नेपाल
१४ भदौ २०८३ ११:०५

नुवाकोट, विदुर। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाढी प्रभावित नुवाकोट जिल्लाका विभिन्न क्षेत्रमा पुगेर स्थलगत अनुगमन तथा निरीक्षण गरेका छन्।

अर्थमन्त्री डा. वाग्ले शनिबार बिहानै नुवाकोटको सदरमुकाम विदुर आइपुगेका हुन्। विदुरमा नेपाली सेनाको नेतृत्वमा सञ्चालित ‘राहत तथा उद्धार कमान्ड पोस्ट’ पुगी उद्धार तथा राहत वितरणको हालसम्मको प्रगतिबारे जानकारी लिइएको छ।

सो क्रममा उद्धार कार्यको नेतृत्व गरिरहेका नेपाली सेनाका उपरथी रञ्जित थापाले बाढीपीडितको उद्धार र राहतमा प्रभावकारी रूपमा काम भइरहेको जानकारी गराए। हराइरहेका मानिसहरूको जीवितै उद्धारलाई पहिलो प्राथमिकतामा राखेर बुधबारदेखि नै काम भइरहेको र शनिबारसम्म आइपुग्दा विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा फसेका श्रमिक तथा नागरिकको उद्धारलाई उच्च प्राथमिकतामा राखिएको जानकारी थापाले दिए।

उद्धारका साथसाथै विस्थापितलाई अस्थायी बसोबास, खाद्यान्न र अन्य राहत सामग्री वितरणको काम केन्द्रबाटै भइरहेको उनले बताए। सोही क्रममा बाढीग्रस्त क्षेत्रमा तत्काल ‘बेलिब्रिज’ आवश्यक रहेकोतर्फ अर्थमन्त्रीको ध्यानाकर्षण गराइएको थियो।

ब्रिफिङपछि अर्थमन्त्री डा. वाग्लेले उद्धार, उपचार र पुनर्स्थापनामा सरकारका तर्फबाट पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता जनाए। स्रोत र साधनको अभाव महसुस हुन नदिइने स्पष्ट पार्दै जुनसुकै सहयोगका लागि निर्धक्क भई समयमै खबर गर्न उनले नेपाली सेनालाई आग्रह गरे।

त्यसपछि अर्थमन्त्री वाग्लेले नेपाली सेनाको गौथली ब्यारेकमा रहेको हवाई उद्धार केन्द्रका साथै राहत सामग्री सङ्कलन एवम् वितरण केन्द्रको निरीक्षण गरे। लगत्तै उनले उद्धार केन्द्रमा आफन्तजन खोज्दै आएका पीडित परिवारलाई भेटेर उनीहरूका समस्या र गुनासा सुने।

नुवाकोट र रसुवाका विभिन्न जलविद्युत् आयोजनामा आफ्ना परिवारका सदस्य फसेकाले उनीहरूको शीघ्र उद्धारका लागि परिवारजनले अर्थमन्त्रीको ध्यानाकर्षण गराएका थिए। सो क्रममा अर्थमन्त्रीले सेनाको ब्रिफिङ उद्धृत गर्दै सुरुङमा फसेका नागरिकको उद्धार नै पहिलो प्राथमिकतामा रहेको जानकारी गराए। उनले उद्धार कार्य जारी रहेकाले सुरक्षाकर्मीमाथि विश्वास राख्न परिवारजनलाई आग्रह गरे।

अनुगमनकै क्रममा अर्थमन्त्री वाग्ले बाढीले क्षति पुर्‍याएको ढुङ्गे बजार पुगे। त्यहाँ भइरहेको उद्धार कार्यको अवलोकन गर्दै उनले पीडित परिवारसँग क्षतिको अवस्था र सरकारले तत्काल गर्नुपर्ने कामबारे सुझाव लिए।

तत्पश्चात् अर्थमन्त्री वाग्ले बाढीले क्षतिग्रस्त बनेको ऐतिहासिक देवीघाट बजार पुगे। त्यहाँ पुगी बाढीले पुर्‍याएको क्षतिको अवलोकन गर्दै उनले पीडामा रहेका स्थानीयलाई भेटेर ढाडस दिए। सरकारले बेपत्ताको खोजी, राहत, उपचार र पुनर्स्थापनामा कुनै कसर बाँकी नराख्ने र आगामी दिनमा पनि प्रतिबद्ध भएर लाग्ने आश्वासन दिए।

त्यसपछि गल्छी-रसुवागढी सडकखण्डअन्तर्गत देवीघाट र जिलिङ जोड्ने क्षतिग्रस्त पक्की पुल क्षेत्रको अवलोकन गरियो। साथै, तल्लो पिपलटारमा रहेको आयुर्वेदिक केन्द्र र चन्द्रज्योति स्कुलस्थित होल्डिङ सेन्टर पुगेर देवीघाट बजारबाट उद्धार गरिएका स्थानीयसँग भेट गरी उनीहरूका समस्या सुनियो।

बाढीबाट उद्धार गरिएका स्थानीयको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै अर्थमन्त्री वाग्लेले उनीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरे। प्रभावितहरूलाई सरकारले उचित पुनर्स्थापना गर्ने उनले बताए। सोही क्रममा स्वास्थ्य उपचारमा खटिएको सशस्त्र प्रहरीको चिकित्सक टोलीसँग पनि भेट गरी उनले आवश्यक स्रोतसाधनको उपलब्धताबारे सोधपुछ गरे।

यसैबीच, अर्थमन्त्री डा. वाग्ले र सञ्चारमन्त्री डा. विक्रम तिमल्सिनाले नुवाकोटका जनप्रतिनिधि तथा राजनीतिक दलका नेतृत्वसँग विपद्पछिको उद्धार, राहत, उपचार र पुनर्स्थापनाको समन्वयका लागि छलफल गरे। जिल्ला समन्वय समितिको हलमा बोलाइएको छलफलमा अर्थमन्त्रीले केन्द्र सरकारबाट कुनै पनि किसिमको स्रोतको अभाव हुन नदिने स्पष्ट पारे। आर्थिक स्रोतको चिन्ता नगरी विपद्‌मा परेका नागरिकलाई राहत र उद्धार पुर्याउन सबैलाई एकजुट भएर लाग्न उनले आग्रह गरे।

दिनभरको अनुगमनपछि अर्थमन्त्री डा. वाग्ले नेपाली सेनाको विदुर कमान्ड सेन्टर पुगे, जहाँ दिनभरको उद्धार, राहत र पुनर्स्थापना कार्यको अन्तिम सुरक्षा ब्रिफिङ भएको थियो। सो क्रममा विपद् प्रतिकार्यमा खटिएका गृहमन्त्री सुदन गुरुङ, सञ्चारमन्त्री विक्रम तिमल्सिना र नेपाली सेनाका उच्च अधिकारीहरूले गरेको ब्रिफिङ उनले सुने।

ब्रिफिङ अनुसार हाल जलविद्युत्‌को सुरुङमा फसेकाहरूलाई सकुशल उद्धार गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखिएको छ। साथै, नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको संयुक्त टोलीले मृतकको शव सङ्कलन र राहत सामग्री वितरणलाई तीव्रता दिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *