बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु

डिसी नेपाल
१४ भदौ २०८३ २०:०७

काठमाडौं। नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्रका थप ७ स्थानमा मोबाइल सेवा सुचारु गरेको छ। यससँगै प्रभावित क्षेत्रका अधिकांश मोबाइल सेवा केन्द्र सञ्चालनमा आएका छन्।

आज सुचारु भएका सेवाकेन्द्रमा रसुवाका रसुवा बोर्डर, अपर सेन्जेन, छापथोके, जिपजिपे र गत्लाङ तथा नुवाकोटका चारघरे र चारघरे मुलाबारी रहेका छन्।

रसुवा बोर्डर सेवाकेन्द्रबाट नेपाल–चीन नाका, टिमुरे, रसुवा सीमा क्षेत्र तथा स्याफ्रुबेसीदेखि भोटेकोशी करिडोरसम्म मोबाइल सेवा पुनः सञ्चालनमा आएको छ। त्यसैगरी अपर सेन्जेनबाट चिलिमे, लामागाउँलगायत क्षेत्र, छापथोकेबाट बेत्रावती, त्रिशूली थ्रीबी, उत्तरगया र किस्पाङ तथा जिपजिपेबाट कालिका गाउँपालिकाका विभिन्न क्षेत्रका नागरिकले मोबाइल सेवा पाउनेछन्।

गत्लाङ सेवाकेन्द्रबाट गत्लाङ, गोल्जुङ, चिलिमे, ठुलो भार्खु, शेर्पागाउँ, ठुलो स्याफ्रु, स्याफ्रुबेसीलगायत क्षेत्रमा सेवा उपलब्ध भएको छ। चारघरे र चारघरे मुलाबारीबाट विदुर नगरपालिका–१२ र १३ मा सेवा सुचारु भएको टेलिकमले जनाएको छ।

विपद्का कारण सञ्चार सेवामा परेको समस्या समाधान गरी सेवा नियमित बनाउन प्राविधिक टोली निरन्तर खटिरहेको नेपाल टेलिकमले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *