बाढीपीडित महिला तथा किशोरीलाई स्वास्थ्य सेवा र ‘डिग्निटी कीट’ वितरण
काठमाडौँ । विनाशकारी बाढीबाट विस्थापित महिला तथा किशोरीको स्वास्थ्य र सुरक्षालाई ध्यानमा राख्दै प्रभावित क्षेत्रमा आवश्यक स्वास्थ्य सेवा, ‘डिग्निटी कीट’, ‘किशोरी कीट’ तथा मनोसामाजिक परामर्श प्रदान गर्न थालिएको छ।
भदौ १० गते बिहान भोटेकोशीसहित त्रिशूली नदीमा आएको अकल्पनीय बाढीबाट प्रभावित तथा विस्थापित महिला र किशोरीलाई संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपिए) को सहकार्यमा नेपाल रेडक्रस सोसाइटीका स्वयंसेवकमार्फत आवश्यक सामग्री वितरण भइरहेको छ।
आपत्कालीन पूर्वतयारी तथा प्रतिकार्य परियोजनाअन्तर्गत बाढीमा घरबार तथा आफन्तजन गुमाएर पीडामा रहेका महिलालाई ‘डिग्निटी कीट’ र किशोरीलाई ‘किशोरी कीट’ वितरण भइरहेको छ। प्रभावित परिवारलाई अस्थायी आश्रयका लागि आवश्यक तारपोलियनसमेत उपलब्ध गराइएको छ।
युएनएफपिएका अनुसार हालसम्म दुई हजार ‘डिग्निटी कीट’, चार सय ‘किशोरी कीट’ र तीन हजार तारपोलियन वितरण भइसकेको छ।
त्यसैगरी, प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गरी अत्यावश्यक स्वास्थ्य सेवासँगै मनोसामाजिक परामर्श तथा यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी सेवा पनि प्रदान भइरहेको छ। बाढीपछि अस्थायी आश्रयस्थलमा बसिरहेका महिला तथा किशोरीको दैनिक आवश्यकता र स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखेर सेवा विस्तार गरिएको युएनएफपिएले जनाएको छ।
नुवाकोटका ककनी–किस्पाङ क्षेत्रका अस्थायी आश्रयस्थल, त्रिभुवन माध्यमिक विद्यालय, विदुर, बट्टारस्थित तामाङ प्लाजा तथा सामुदायिक बहुउद्देश्यीय भवनलगायत स्थानमा आश्रय लिइरहेका प्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ उपलब्ध गराइएको छ।
नेपाल रेडक्रस सोसाइटीका अनुसार धादिङ र रसुवाका बाढी प्रभावित महिला तथा किशोरीलाई समेत ‘डिग्निटी कीट’ वितरण गर्ने तयारी भइरहेको छ।
बाढीका कारण घर, परिवार र आफन्त गुमाएर अस्थायी आश्रयमा बस्न बाध्य भएका महिला तथा किशोरीलाई आधारभूत स्वास्थ्य सेवा तथा आवश्यक सामग्रीको पहुँच सुनिश्चित गर्न राहत तथा स्वास्थ्यसम्बन्धी कार्यक्रमलाई थप प्रभावकारी बनाइने जनाइएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment