दश मिनेटमा बदलिएको लामुसोती: त्रिशूलीको बाढीले पुरेको बस्ती र ज्यान बचेपछिको अर्को संघर्ष

डिसी नेपाल
१९ भदौ २०८३ १०:२०

नुवाकोट। दश मिनेटअघिसम्म लामुसोती गाउँको दैनिकी सामान्य थियो।

घरका आँगनमा मानिसहरूको चहलपहल थियो। कसैको घरमा खाना पाक्दै थियो भने गोठमा गाईवस्तु र बाख्रा बाँधिएका थिए। खेतमा धान हरियाली थियो। वृद्ध आमाबुबा घरमै आराम गरिरहेका थिए, सुत्केरी महिला विश्राममा थिइन् र बालबालिकाहरू विद्यालय गइरहेका थिए।

तर, मात्र दस मिनेटपछि त्यो दृश्य पूर्ण रूपमा बदलियो।

त्रिशूली नदी अर्थात् ठूलो खोलातर्फबाट अचानक आएको भीषण बाढीले नुवाकोटको बेलकोटगढी नगरपालिका–७, लामुसोतीको भूगोल नै बदलिदियो। बस्तीका २८ घर माटो, हिलो र बालुवाको लेदोमुनि पुरिए।

कतिपय घरका माथिल्ला तलासम्म हिलो भरियो। खेतबारी देखिन छाडे भने गोठमा बाँधिएका चौपाया पुरिए। घरभित्र रहेका अन्न, भाँडाकुँडा, लत्ताकपडा, कागजात र वर्षौँको कमाइ केही मिनेटमै माटोमुनि पुग्यो।

जिन्दगी र मृत्युबीचको त्यो १० मिनेट

२८ वर्षीय राजेन्द्र नेपाल बाढी आएको दिन खेतमा धान रोपाइँ/गोडमेलमा व्यस्त हुनुहुन्थ्यो। दिन सामान्य रूपमा बितिरहेको थियो। अचानक खोलामा पानी बढेको खबर आयो। “हामीलाई खोलामा बाढी आउँदैछ भनेर खबर आएको १० मिनेट मात्रै भएको थियो। म त्यतिबेला खेतमै थिएँ,” उनले सम्झिए।

खबर पाउनासाथ गाउँमा भागदौड मच्चियो। राजेन्द्र पनि घरतर्फ दौडिए। खोलाको पानीको वेग तीव्र गतिमा बढ्दै थियो। उनी रसुवा जाने मूल सडकतर्फ पुग्दा बाढी पछिपछि आइपुगिसकेको थियो। “बाढीभन्दा दुई हात मात्रै अगाडि दौडिएर माथिल्लो डाँडातिर पुगेर ज्यान बचाएँ,” उनले भने।

त्यो दौड केवल सुरक्षित ठाउँमा पुग्ने होड थिएन, जीवन र मृत्युबीचको अन्तिम संघर्ष थियो। केही मिनेट मात्र ढिला भएको भए के हुन्थ्यो भन्ने प्रश्नको उत्तर उनी आफैंसँग छैन।

ज्यान त जोगियो, तर उनको घर जोगिन सकेन। घरका दुई तलासम्म हिलो र माटो भरिएको छ। भान्छाका सामान, ग्याँस चुल्हो, लत्ताकपडा र घरका अन्य सामग्री सबै पुरिएका छन्।

आज राजेन्द्रको घर उभिएको छैन, घर भएको ठाउँमा हिलोको थुप्रो मात्र छ। रात परेपछि उनी परिवारसहित छिमेकीको घरको पिँढीमा सुत्छन्। “अहिले हामी अरूकै घरको पिँढीमा सुतिरहेका छौँ,” उनले दुःखेसो पोखे, “राहतमा चामल त आएको छ, तर पकाउने साधन छैन। झरी परिरहेको छ, दाउरा भिजेर बल्दैन। ग्याँस चुल्हो सबै पुरियो। धेरै गाह्रो भइरहेको छ।”

राहतको एउटा बोरा चामलले केही दिनको भोक टार्न त सक्छ, तर घरको आवश्यकता पूरा गर्न सक्दैन। बाढीको पानी अहिले घटिसकेको छ, तर लामुसोतीमा विपत्तिको अध्याय अझै सकिएको छैन। यहाँका बासिन्दाका अगाडि एउटै अहम् प्रश्न खडा छ-“ज्यान त जोगियो, अब जीवन कसरी जोगाउने?”

हिलोमा हराएको घर र जीवनको चिनो

बाढीपछि लामुसोती पुग्दा पुराना घरहरू पहिल्याउनै कठिन हुन्छ। जहाँ कुनै समय घरका भित्ताहरू थिए, त्यहाँ अहिले हिलोको थुप्रो छ। जहाँ आँगन थियो, त्यहाँ बालुवाको लेदो छ। जहाँ चुलो बल्थ्यो, त्यहाँ माटो भरिएको छ। घरका सामान खोज्न मानिसहरू हातैले बालुवा र हिलो पन्छाइरहेका छन्।

७० वर्षीय लालप्रसाद नेपाल त्यही भीडमा आफ्नो घरको चिनो खोजिरहेका थिएए। उनले वर्षौं बिताएको घर अब घरजस्तो देखिँदैन। न ढोका छ, न झ्याल। न आँगन बाँकी छ, न त भान्छा नै।

हिलो खोतल्दै गर्दा उनको हातमा एउटा खिया लागेको फलामको रड आयो। उनले त्यो रडलाई केही बेर नियाल्नुभयो र अगाडि रहेको हिलोको थुप्रोतर्फ देखाउँदै भने, “मेरो घर यही हो।”

उनका लागि त्यो रड केवल फलामको टुक्रा थिएन, आफ्नो घरको अन्तिम चिनो थियो।

लामुसोतीमा अहिले यस्ता चिनो खोज्ने २८ परिवार छन्। कसैले घरको ढोका खोजिरहेका छन्, कसैले भाँडाकुँडा, कसैले नागरिकता, लालपुर्जा त कसैले गहना र अन्न। तर सबैभन्दा बढी मानिसहरूले आफ्नो पुरानो सामान्य जीवन खोजिरहेका छन्।

भूकम्पपछि ठडिएको घर पुनः माटोमा

६८ वर्षीय लोकनाथ नेपालको कथा लामुसोतीको अर्को पीडादायी अध्याय हो। २०७२ सालको भूकम्पले पुरानो घर ढालेपछि उनले फेरि घर बनाउने सपना देखेका  थिए। सरकारले दिएको ३ लाख रुपैयाँ अनुदानमा आफ्नो कमाइ थपेर उनले १४ वटा पिलर हालेर पक्की ढलान घर बनाए।

घर निर्माणमा करिब २७ लाख रुपैयाँ खर्च भएको उनी बताउँछन्। भूकम्पपछि फेरि ठडिएको त्यो घर उनका लागि केवल संरचना थिएन, विपत्तिपछि फर्किएको नयाँ जीवनको प्रतीक थियो। तर अहिले त्यो घर पनि रहेन। बाढीले घरलाई यति गहिरोगरी पुरेको छ कि त्यसको निसानसम्म पहिचान गर्न कठिन छ।

लोकनाथको स्वरमा गहिरो पीडा छ-“मलाई के थाहा, दुःखजिलो गरेर बनाएको घर एकै मिनेटमा सखाप हुन्छ भनेर?” केही बेर रोकिएर उनले थपे, “भूकम्पले पर्खाल ढालेको थियो, यो बाढीले त घरको निसान नै मेटाइदियो।”

उनको साढे चार रोपनी जग्गासमेत बाढीको चपेटामा परेको छ। घर, खेतबारी, ३ वटा खसी, २ वटा बाख्रा, १८-१९ क्विन्टल धान, खाट, दराज, भाँडाकुँडा, गहना-उनले जीवनभर जोडेको अधिकांश सम्पत्ति माटोमुनि पुगेको छ। उनका अनुसार कुल क्षति करिब ५ करोड रुपैयाँ बराबरको छ।

बाढीले लोकनाथको घर मात्र पुरेको छैन, नागरिकता, लालपुर्जा र अन्य महत्त्वपूर्ण कानुनी कागजातसमेत पुरेको छ। “हामीसँग अहिले केही पनि बाँकी छैन, नाङ्गो भएका छौं,” उनले भने। ६८ वर्षको उमेरमा फेरि शून्यबाट घर बनाउनुपर्ने अवस्था कल्पना गर्दा उहाँका आँखामा असहायपन प्रस्ट देखिन्छ- “कमाउने उमेर पनि ढलिसक्यो, अब गरिखाने ठाउँसमेत रहेन।”

सुत्केरी र वृद्धको सुरक्षा मुख्य चिन्ता

श्रीकृष्ण नेपालको परिवारमा अहिले राहतभन्दा ठूलो चिन्ता सुरक्षाको छ। उहाँको साढे तीन तलाको घर र साढे चार रोपनी खेत बाढीले पुरेको छ। घरमा ८८ वर्षीया वृद्ध आमा हुनुहुन्छ भने परिवारमा सुत्केरी महिला पनि छिन्। कुल ७ जना सदस्य अहिले अस्थायी आश्रयको खोजीमा छन्।

बाढी आउनुअघि कुनै सरकारी निकायबाट पर्याप्त पूर्वसूचना नआएको श्रीकृष्णको गुनासो छ। “घरमा बसिरहेको अवस्थामा माथिबाट अचानक बाढी आयो। त्यो देखेर ज्यान जोगाउन भाग्यौँ। ज्यान त जोगियो, तर घरभित्र रहेका भान्छाका सामान, चौपाया, धनसम्पत्ति र गहना सबै पुरिए,” उनले भने।

उनका ३ वटा खसी र २ वटा बाख्रा पनि बाढीमा पुरिएका छन्। छोरा वैदेशिक रोजगारीका लागि विदेश गएको एक महिना पनि भएको छैन।

यस्तो प्रतिकूल मौसममा ८८ वर्षीया वृद्धा र सुत्केरी महिलालाई खुला ठाउँमा राख्नु अत्यन्त जोखिमपूर्ण छ। “त्रिपालमुनि बस्न धेरै कठिन भइरहेको छ,” श्रीकृष्णले भने, “वृद्ध आमा र सुत्केरीको सुरक्षाका लागि टिनको टस हालेर भए पनि तत्काल अस्थायी बासको व्यवस्था गरिदिनुपर्छ।”

पूर्वसूचना र जनप्रतिनिधिको भूमिकामाथि प्रश्न

लामुसोतीको घटनाले विपद् पूर्वसूचना प्रणालीको प्रभावकारितामाथि गम्भीर प्रश्न उठाएको छ। पीडितका अनुसार बाढी आउनुभन्दा करिब १० मिनेटअघि मात्रै सूचना पुगेको थियो।

त्यो १० मिनेटले मानिसको ज्यान त जोगाउन सक्यो, तर यदि केही समयअघि नै सूचना आएको भए चौपाया, महत्त्वपूर्ण कागजात, औषधि र आवश्यक खाद्यान्न जोगाउन सकिन्थ्यो।

अर्कोतर्फ, विपत्तिको समयमा स्थानीय सरकार र जनप्रतिनिधिको उपस्थिति फितलो देखिएको पीडितहरूको भनाइ छ। श्रीकृष्णले गुनासो गरे, “दुर्भाग्यको कुरा, घटनापछि वडाध्यक्ष वा अन्य जनप्रतिनिधि कोही पनि हालसम्म आएका छैनन्।”

विपत्तिको समयमा प्रभावित परिवारलाई केवल राहत सामग्री मात्र नभई उनीहरूको दुःख सुनिदिने र अभिभावकत्व दिने राज्यको उपस्थितिको खाँचो हुन्छ।

राहतभन्दा अगाडिको पुनःस्थापनाको पहाड

लामुसोतीका बाढीपीडितलाई अहिले तत्कालका लागि खाद्यान्न, पिउने पानी, लत्ताकपडा र अस्थायी बास आवश्यक छ। तर केही दिनपछि राहतको चामल सकिनेछ, त्रिपाल च्यातिनेछ र वर्षा पनि रोकिनेछ। त्यसपछिको वास्तविक चुनौती भनेको २८ परिवारको दिगो पुनःस्थापना हो।

जोखिमयुक्त बनेको पुरानो बस्तीको साटो नयाँ ठाउँमा जग्गा उपलब्ध गराउने, घर निर्माण गर्ने, वृद्धवृद्धा, सुत्केरी र बालबालिकाको विशेष रेखदेख गर्ने, र गुमेका नागरिकता तथा लालपुर्जा जस्ता कागजात पुनः बनाइदिने जिम्मेवारी राज्यको काँधमा छ।

ज्यान त बच्यो, तर त्यसपछि सुरु भएको जीवनको यो लडाइँ झन् कठिन बनेको छ। लामुसोतीका बासिन्दालाई अहिले क्षणिक सहानुभूति होइन, योजनाबद्ध सहयोग र सुरक्षित दीर्घकालीन पुनःस्थापनाको खाँचो छ।

राधेश्याम विश्वकर्मा/ नेपाल न्यूज बैंक

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *