भोजपुरको टेम्केमैयुङमा महिला स्वास्थ्य शिविर: १३७ जनाको क्यान्सर परीक्षण

डिसी नेपाल
२१ भदौ २०८३ ७:४५

भोजपुर। महिलाहरूमा हुने स्तन तथा पाठेघरको मुखको क्यान्सरको समयमै पहिचान र रोकथाम गर्ने उद्देश्यका साथ भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा दुईदिने निःशुल्क स्वास्थ्य परीक्षण तथा सचेतना अभियान सम्पन्न भएको छ।

‘मातृत्व जोगाउने अभियान’ अन्तर्गत आयोजित शिविरमा गाउँपालिकाका १३७ जना महिलाको स्तन तथा पाठेघरको मुखको क्यान्सर परीक्षण गरिएको छ।

दुर्गम क्षेत्रका महिलाहरूलाई घरदैलोमै स्वास्थ्य सेवा पुर्‍याउँदै क्यान्सरको प्रारम्भिक अवस्था पहिचान गर्न अभियान सञ्चालन गरिएको आयोजक ‘कल्प इम्पावर वुमन नेपाल’की अध्यक्ष पूजा कोइरालाले जानकारी दिइन्।

महिला स्वास्थ्य र नेतृत्व विकासका क्षेत्रमा कार्यरत यस संस्थाले हालसम्म करिब २५ हजार महिलालाई सेवा प्रदान गरिसकेको छ भने यस वर्ष थप १० हजार महिलासम्म पुग्ने लक्ष्य राखेको छ।

स्वास्थ्य परीक्षणका क्रममा दुई जना महिलामा पाठेघरको मुखको क्यान्सरसँग सम्बन्धी प्रारम्भिक शङ्कास्पद लक्षण फेला परेको विराट मेडिकल कलेज टिचिङ अस्पतालकी डा. रेखा साहले जानकारी दिइन्। शिविरमा क्यान्सरको प्रारम्भिक पहिचान, नियमित परीक्षण र समयमै उपचार गर्दा हुने फाइदाबारे परामर्शसमेत दिइएको थियो।

गाउँपालिकाका महिलाको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै स्थानीय तहमै रोगको खोजी र रोकथामका लागि शिविर सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताए।

परीक्षणका साथै महिलाहरूलाई क्यान्सरबारे जानकारी दिन ‘सी क्यान’ (उनी सक्छिन्) अभिमुखीकरण र किशोरीहरूका लागि सामुदायिक स्वास्थ्य साक्षरता कार्यक्रम पनि सञ्चालन गरिएको थियो। कार्यक्रममार्फत समुदायस्तरमै पुगेर पाठेघर र स्तन क्यान्सरका साथै समग्र प्रजनन स्वास्थ्यबारे सचेतना जगाउने काम गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *