सहिद लखन र इच्छाकामनालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न बुर्लाकोटीको माग
चितवन: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले गोरखाको सहिद लखन गाउँपालिका र चितवनको इच्छाकामना गाउँपालिकालाई पनि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सरकारसँग माग गरेका छन्।
गोरखा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यसमेत रहेका बुर्लाकोटीले भोटेकोशी बाढीका कारण यी दुवै गाउँपालिकाका नदी तटीय क्षेत्र प्रभावित भएको भन्दै विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्नुपर्ने बताएका हुन्।
चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले बाढीका कारण दुवै गाउँपालिकाका नदी किनारमा रहेका बस्ती, पर्यटकीय होटल तथा उद्योगहरूमा क्षति पुगेको जानकारी दिए। उनका अनुसार भोटेकोशीबाट आएको बाढी त्रिशूली नदी हुँदै यी क्षेत्र भएर नारायणी नदीमा मिसिएको थियो।
उनले भने, “बाढीले यी दुवै पालिकामा क्षति पुर्याएको छ। नदी तटीय क्षेत्रका बासिन्दा प्रभावित भएका छन्। नदी किनारमा रहेका पर्यटकीय होटल र उद्योगमा पनि क्षति पुगेको छ। दुवै गाउँपालिका त्रिशूली नदीको वारी र पारी पर्दछन्। भोटेकोशीबाट आएको बाढी यिनै पालिकासँगैको त्रिशूली नदी हुँदै नारायणीमा मिसिएको हो।”
बुर्लाकोटीले आफूले यस विषयमा सरकार तथा पार्टीभित्र समेत कुरा राखिसकेको जानकारी दिए। विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा भएपछि प्रभावित क्षेत्रका बासिन्दालाई राज्यका तर्फबाट राहत, उद्धार, पुनःस्थापना तथा पुनर्निर्माणमा थप प्रभावकारी ढङ्गले सम्बोधन गर्न सकिने उनको भनाइ छ।
सरकारले यसअघि रसुवाका उत्तरगया, गोसाइँकुण्ड, कालिका र आमाछोदिङ्मो गाउँपालिका, नुवाकोटका विदुर र बेलकोटगढी नगरपालिका तथा किस्पाङ र तारकेश्वर गाउँपालिकालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ।
त्यस्तै, धादिङका गल्छी, सिद्धलेक, गजुरी र बेनीघाट रोराङ गाउँपालिका, गोरखाको गण्डकी गाउँपालिका तथा तनहुँका देवघाट र आँबुखैरेनी गाउँपालिकालाई पनि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको छ।
बुर्लाकोटीले यी क्षेत्रको सूचीमा सहिद लखन र इच्छाकामना गाउँपालिकालाई समेत समावेश गर्न माग गरेका छन्। उनका अनुसार यसबाट राज्यको लगानी बढाउन, प्रभावितलाई राहत तथा उद्धार गर्न, क्षतिग्रस्त संरचनाको पुनर्निर्माण गर्न तथा गैरसरकारी सङ्घसंस्थालाई समेत राहत तथा पुनःस्थापनाका काममा परिचालन गर्न सहज हुनेछ।
बाढी प्रभावित परिवारको अवस्था बुझ्न चितवन हुँदै गोरखा पुगेका बुर्लाकोटीले प्रभावितको उद्धार, राहत र पुनःस्थापनाका काममा सरकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी निरन्तर सक्रिय रहेको बताए।
उनले गोरखालगायतका जिल्लाबाट संघीय राजधानी काठमाडौं जोड्ने सडकमा बाढी तथा पहिरोका कारण देखिएको समस्या समाधान गर्न सरकारले कृष्णभीरलगायतका स्थानमा सडक मर्मत तथा वैकल्पिक मार्ग निर्माणको काम तीव्र गतिमा अघि बढाइरहेको पनि बताए। सडक मर्मत र वैकल्पिक मार्ग निर्माणको काम सम्पन्न भएपछि संघीय राजधानीसँगको यातायात आवागमन छिट्टै सहज हुने उनको भनाइ छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment