रास्वपा सभापति लामिछाने र अमेरिकी विदेशमन्त्री रुबियोबीच टेलिफोन वार्ता
भोटेकोशी बाढीप्रति अमेरिकाद्वारा थप सहयोगको प्रतिबद्धता
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने र अमेरिकी विदेशमन्त्री मार्को रुबियोबीच टेलिफोन वार्ता भएको छ।
वार्ताका क्रममा अमेरिकी विदेशमन्त्री रुबियोले भोटेकोशीमा आएको भीषण बाढीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन्।
साथै, उनले संकटको यस घडीमा नेपाली जनता र नेपाल सरकारप्रति अमेरिकी सरकारको तर्फबाट पूर्ण ऐक्यबद्धता जनाए।
जवाफमा सभापति लामिछानेले नेपाल सरकारले खोजी, उद्धार तथा राहत कार्यमा आफ्ना सम्पूर्ण स्रोत-साधन परिचालन गरिरहेको जानकारी गराए।
लामिछानेले नेपाली नागरिकका साथसाथै नेपालमा रहेका सम्पूर्ण विदेशी नागरिकको सुरक्षाका लागि पनि सरकार समान रूपमा प्रतिबद्ध रहेको आश्वस्त पारे।
कठिन समयमा दर्साएको सद्भाव र निरन्तर सहयोगका लागि अमेरिकी सरकारलाई धन्यवाद ज्ञापन गर्दै लामिछानेले आभार व्यक्त गरे। त्यसक्रममा विदेशमन्त्री रुबियोले बाढी प्रभावितहरूका लागि नेपाल सरकारलाई आवश्यक परेमा थप मानवीय तथा प्राविधिक सहयोग उपलब्ध गराउन अमेरिका तयार रहेको प्रतिबद्धता जनाए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment