झापामा एक महिनादेखि आतंक मच्चाएका २२ हात्ती भारत फर्किए
झापा। विगत एक महिनादेखि झापाका विभिन्न सामुदायिक वनमा डेरा जमाएर बसेका २२ वटा हात्तीको समूह सोमबार बिहान भारततर्फ फर्किएको छ। बच्चासहितको उक्त हुल फर्किएपछि स्थानीय बासिन्दाले राहतको महसुस गरेका छन्।
बाहुनडाँगी, शान्तिनगरलगायत क्षेत्रमा हात्तीको हुलले घर भत्काउने, खेतको धान नष्ट गर्ने र सुपारीका बोट भाँचिदिने गरेपछि उत्तरी-पूर्वी झापाका बासिन्दा लामो समयदेखि त्रासमा थिए।
नेपाल-भारत सीमामा रहेको सोलार फेन्सिङ जीर्ण बनेकाले भारतको आसाम र पश्चिम बंगालका जंगलबाट मेची नदी तरेर हात्तीहरू सजिलै नेपाल छिर्ने गरेको स्थानीय नीलकण्ठ तिवारीले बताए।
ठूलो हुल फर्किए पनि सोमबार बिहान बिर्तामोड-७ मा एउटा एक्लो हात्ती बस्तीमा पसेपछि स्थानीयवासी पुनः त्रसित बनेका थिए।
करिब चार घण्टा बस्तीमा घुमेपछि उक्त हात्ती बुटाबारीको चियाबगानतर्फ लागेको छ। झापामा बर्सेनि हात्तीको आक्रमणबाट मानवीयका साथै ठूलो मात्रामा भौतिक र अन्नबालीको क्षति हुने गरेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment