बाढीपीडितका लागि नेपाल र नेशनल मेडिकल कलेजद्वारा प्रधानमन्त्री राहत कोषमा ७५ लाख सहयोग

डिसी नेपाल
२३ भदौ २०८३ १२:०५

काठमाडौं। रसुवा, नुवाकोट र धादिङका बाढीपीडित परिवारको सहयोगार्थ नेपाल मेडिकल कलेज, काठमाडौँ र नेशनल मेडिकल कलेज, वीरगञ्जले संयुक्त रूपमा ७५ लाख रुपैयाँ सहयोग गरेका छन्।

प्राकृतिक विपद्को कठिन परिस्थितिमा प्रभावित नागरिकहरूलाई राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले दुवै कलेजले सो रकम प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरेका हुन्।

सोमबार नेपाल र नेशनल मेडिकल कलेजका अध्यक्ष प्रा. डा. जैनुद्धिन अन्सारी नेतृत्वको टोलीले अर्थमन्त्रालय पुगेर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सो राहत रकमको चेक हस्तान्तरण गरेको छ।

विषम परिस्थितिमा राज्य र पीडित नागरिकहरूसँग हातेमालो गर्नु निजी क्षेत्रको पनि दायित्व भएको भन्दै नेपाल मेडिकल कलेजकी प्रबन्ध निर्देशक डा. सबिहा यासमिनले देश संकटमा परेका बेला सहयोग गर्न आफूहरू सधैँ तत्पर रहने बताइन्।

रकम ग्रहण गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दुई मेडिकल कलेजले पुर्‍याएको योगदानको प्रशंसा गरे। मुलुक संकटमा परेका बेला हरेक क्षेत्रबाट यस्तै योगदानको अपेक्षा गरिने बताउँदै उनले निजी क्षेत्रले देखाएको उदारता र सहकार्यप्रति सरकार कृतज्ञ रहने उल्लेख गरे।

स्वास्थ्य सेवा प्रवाहसँगै सामाजिक उत्तरदायित्व निर्वाह गर्ने मान्यताअनुसार यी संस्थाहरूले यो सहयोग उपलब्ध गराएका हुन्। आर्थिक सहयोगका साथै आगामी दिनमा पनि प्रभावित क्षेत्रमा आवश्यकताअनुसार स्वास्थ्य तथा मानवीय सेवाका कार्यलाई निरन्तरता दिने प्रतिबद्धता दुवै मेडिकल कलेजले जनाएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *