रसुवाका बाढीपीडितका लागि नाइमाद्वारा ५० लाख सहयोग हस्तान्तरण
काठमाडौं। हालै रसुवामा आएको बाढीबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले ५० लाख सहयोग प्रदान गरेको छ।
नाइमाका अध्यक्ष ऋतु सिंह वैद्यको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले उक्त सहयोग रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो।
रकम हस्तान्तरण कार्यक्रममा नाइमाका बोर्ड सदस्यहरू यमुना श्रेष्ठ र हेमन्त गोल्छा, सिमेक्स इंक का प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठ, नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलाल, कार्यक्रम संयोजक ज्ञानु अधिकारी तथा डिजिटल एजेन्सी डिजीपालका तर्फबाट उत्सव कार्कीको सहभागिता रहेको थियो।
सो अवसरमा अध्यक्ष ऋतु सिंह वैद्यले सहयोग रकम तुलनात्मक रूपमा सानो भए पनि यसको मूल मर्म विपद्को घडीमा प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउनु रहेको बताइन्।
नाइमाका सदस्य कम्पनीहरूसहित नेपालका अटोमोबाइल आयातकर्ता तथा उत्पादकहरूको तर्फबाट यो सहयोग उपलब्ध गराइएको उल्लेख गर्दै उनले सकंटका समयमा नाइमा सधैं सरकार र प्रभावितहरूसँगै उभिने प्रतिबद्धता व्यक्त गरिन्। “यो केवल आर्थिक सहयोग मात्र नभई कठिन समयमा हामी प्रभावित समुदायसँगै छौं भन्ने ऐक्यबद्धताको सन्देश पनि हो,” अध्यक्ष वैद्यले भनिन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment