हारेर पनि नेपाल समूह विजेता, सेमिफाइनलमा ओमानसँग भिड्ने
BANGI, MALAYSIA - AUG 31: Pictures from the match between Bahrain and Nepal held at the YSD UKM Oval on August 31, 2026 in Bangi, Selangor, Malaysia. (Photo by Peter Lim/PhotoDesk.com.my) for Asian Cricket Council
काठमाडौँ। मलेसियाको बायुमास क्रिकेट ओभलमा मङ्गलबार सम्पन्न एसीसी पुरुष प्रिमियर कपको समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग १५ रनले पराजित भएको छ।
हङकङले प्रस्तुत गरेको २६२ रनको विजयी लक्ष्य पछ्याउने क्रममा नेपाल ४९.१ ओभरमा २४६ रन बनाउँदा अलआउट भयो। हारका बाबजुद नेपाल नेट रन रेटमा अगाडि रहँदै समूह ‘ए’ को विजेता बनेर सेमिफाइनल प्रवेश गर्न सफल भएको छ।
टस जितेर पहिले ब्याटिङ रोजेको हङकङले ५० ओभरमा ७ विकेट गुमाउँदै २६१ रनको बलियो योगफल खडा गरेको थियो। एक समय १३३ रनमा ७ विकेट गुमाएर सङ्कटमा परेको हङकङका लागि बाबर हायात र एहसान खानले आठौँ विकेटका लागि १२८ रनको अविजित शतकीय साझेदारी गरे।
हायातले १२७ बलमा ७ चौका र ७ छक्काको मद्दतमा अविजित ११७ रन बनाए भने एहसान खानले अविजित ३५ रन जोडे। नेपालका तर्फबाट बलिङमा कप्तान सन्दीप लामिछानेले ४७ रन खर्चेर ४ विकेट र शेर मल्लले २७ रन दिएर ३ विकेट हात पारेका थिए।
२६२ रनको विजयी लक्ष्य पछ्याएको नेपालका लागि मध्यक्रमका ब्याटर ईशान पाण्डेले सर्वाधिक ९० रन (१०६ बल, ६ चौका, २ छक्का) को योगदान दिए भने ओपनर आसिफ शेखले ४४ रन जोडे। रोहित पौडेल (३ रन) र देव खनाल (६ रन) सस्तैमा समेटिएपछि नेपाल दबाबमा परेको थियो।
तल्लो क्रममा दीपेन्द्र सिंह ऐरीले २५ रन, करण केसीले २१ रन र गुल्शन झाले २० रन जोड्दै जितको आशा जीवित राखे तापनि अन्तिम ओभरहरूमा लगातार विकेट गुम्दा टोली लक्ष्यभन्दा १५ रनले पछाडि पर्यो।
समूह ‘ए’ बाट नेपाल र हङकङ दुवै टोलीले ४ खेलमा ३ जित र १ हारसहित समान ६–६ अङ्क जोडे पनि उत्कृष्ट नेट रन रेटका आधारमा नेपाल समूह विजेता र हङकङ उपविजेता बनेका छन्। अव प्रतियोगिताको सेमिफाइनल समीकरणअनुसार समूह ‘ए’ को विजेता नेपालले फाइनल प्रवेशका लागि समूह ‘बी’ को उपविजेता ओमानको सामना गर्नेछ भने अर्को सेमिफाइनलमा युएई र हङकङ भिड्नेछन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment