बाढीपीडितको सहयोगका लागि च्याम्पियन्स लिगमा ‘टुगेदर फर नेपाल’ लेखिएको जर्सी
काठमाडौं । मानवीय संवेदनाको एक उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै इटालीको फुटबल क्लब एएस रोमाले युइएफए च्याम्पियन्स लिग अन्तर्गत टर्कीको फेनेरबाहचेविरुद्धको खेललाई नेपाल र नेपाली जनताप्रति ऐक्यबद्धता जनाउने अवसरका रूपमा प्रयोग गरेको छ ।
इस्तानबुलमा भएको उक्त खेलका क्रममा टर्कीको विज्ञापनसम्बन्धी कानूनका कारण जर्सीमा नियमित प्रायोजक ‘युरोबेट’ को लोगो राख्न नमिल्ने भएपछि क्लबले यो कदम चालेको हो।
प्रायोजकको ठाउँ खाली राख्नुको सट्टा एएस रोमाले संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रमसँग सहकार्य गर्दै जर्सीको अघिल्लो भागमा उसको लोगोसँगै “टुगेदर फर नेपाल” (नेपालका लागि सँगसँगै) भन्ने वाक्य राखेको हो ।
यस पहलको मुख्य उद्देश्य नेपालमा बाढी र पहिरोबाट प्रभावित भएका मानिसहरूले भोगिरहेका कठिन मानवीय अवस्थाप्रति विश्वभरका मानिसहरूको ध्यान आकर्षित गराउनु रहेको छ। यो खेल १-१ गोलको बराबरी भएको छ ।
एस रोमाको यो कदम साङ्केतिक सन्देशमा मात्र सीमित हुनेछैन। क्लबका अनुसार खेलका क्रममा खेलाडीहरूले लगाएका जर्सीहरूको खेलपश्चात् लिलामी गरिनेछ र त्यसबाट सङ्कलन हुने सम्पूर्ण रकम विश्व खाद्य कार्यक्रममार्फत नेपालका बाढीपहिरो पीडितहरूको राहत तथा पुनरुत्थान कार्यमा सहयोग स्वरूप प्रदान गरिनेछ।
विश्व खाद्य कार्यक्रमका अनुसार नेपालमा हाल करिब ४३ हजार मानिसलाई तत्काल मानवीय सहायताको आवश्यकता रहेको समयमा यो कदम आएको हो। यस पहलबाट एएस रोमाले फुटबल केवल खेल मैदानभित्र मात्र सीमित नरही यसले विपद्मा परेकाहरूलाई सहयोग र ऐक्यबद्धता जनाउने एउटा सशक्त माध्यमको रूपमा पनि काम गर्न सक्छ भन्ने कुरालाई पुनः पुष्टि गरेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment