भोटेकोशी बाढीपछि त्रिशूली किनारका बासिन्दामा अझै त्रास : पानी पर्नासाथ घर छाड्नुपर्ने हो कि भन्ने डर

डिसी नेपाल
३० भदौ २०८३ ९:४५

चितवन । भदौ १० गते आएको विनाशकारी भोटेकोशी बाढीपछि त्रिशूली नदी किनारमा बसोबास गर्ने स्थानीयमा अझै त्रास कायमै छ । सामान्य रूपमा पानी पर्न थाले पनि कतै त्रिशूलीमा अचानक बाढी आउने र ठूलो क्षति हुने हो कि भन्ने चिन्ताले उनीहरूलाई सताउन थालेको छ ।

इच्छाकामना गाउँपालिका–५ त्रिशूली किनारमा बस्दै आएकी सानी गौचनले आफूलाई अहिले पहिलेभन्दा असुरक्षित महसुस भइरहेको बताइन् । जीवनका ४५ वर्ष यही क्षेत्रमा बिताएकी उनी भोटेकोशी बाढीपछि झस्किन थालेकी छन् ।

‘बाढी त यसअघि पनि देखेका थियौँ । तर, यति विनाशकारी बाढी कहिल्यै देखेका थिएनौँ । त्यो दिन सम्झिँदा अहिले पनि मनमा अत्यास लाग्छ,’ उनले भनिन्, ‘पानी पर्न थालेपछि फेरि घर छाड्नुपर्ने हो कि भन्ने डर लाग्छ ।’

मुग्लिन बजारमा विगत ४५ वर्षदेखि ‘आमा होटल’ सञ्चालन गर्दै आएकी कोपिला गौचन पनि बाढीपछि निकै चिन्तित छन् । वर्षात् हुन थालेपछि आफू र आफ्ना कामदारको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न थालेको उनले बताइन् । भदौ १० गतेदेखि आफूले न फोन बन्द गर्न सकेकी छन्, न त रातमा राम्रोसँग निदाउन नै सकेकी छन् ।

‘कतै फोन गरेर घर छाड, बाढी आउँदै छ भन्ने सूचना आउँछ कि भन्ने डर लागिरहन्छ,’ उनले भनिन् ।

त्रिशूली नदीको पानीको आवाज सुन्दा पनि अहिले त्रास उत्पन्न हुने गरेको उनको भनाइ छ । विगतमा नदी किनारमै बसेर व्यवसाय गर्दै आए पनि विनाशकारी बाढीपछि आफूहरू अझै सुरक्षित रहेको अनुभूति हुन नसकेको उनले बताइन् ।

‘पुर्ख्यौली काम छोड्न सकिएको छैन । तर, अझै हामी सुरक्षित छौँ जस्तो लाग्दैन,’ उनले भनिन् ।

स्याङ्जा स्थायी ठेगाना भई विगत ३२ वर्षदेखि मुग्लिन आसपास व्यवसाय गर्दै आएका सेख अलाउदीन मियालाई पनि पानीको आवाज सुन्नासाथ आफूले राखेका सामानको चिन्ता हुन थालेको छ । नुवाकोटमा रहेकी छोरीसमेत बेखबर भएपछि आफूलाई थप डर लाग्ने गरेको उनले बताए ।

सामान्य अवस्थामा खोलामा पानीको बहाव बढ्दा खासै चिन्ता नहुने भए पनि भदौ १० गतेको बाढीपछि रातमा राम्रोसँग निदाउन नसकेको उनको भनाइ छ । साना बालबालिकासहित बस्नुपर्ने अवस्था र त्यसमाथि त्रिशूली नदीको जोखिमले थप समस्या भएको उनले बताए ।

अचानक आएको बाढीले त्रिशूली किनारमा व्यवसाय सञ्चालन गर्नसमेत डर लाग्न थालेको उनको गुनासो छ ।

त्रिशूलीमा र्‍याफ्टिङ गर्न आउने पर्यटकलाई खाना तथा खाजा खुवाउँदै आएका नारायण श्रेष्ठ पनि अहिले व्यवसाय निरन्तरता दिने कि छाड्ने भन्ने दोधारमा छन् । सँगै व्यवसाय गर्दै आएका केही साथीहरू बाढीपछि व्यवसाय छाडेर अन्यत्र गएपछि आफू पनि अन्योलमा परेको उनले बताए ।

‘बाढीसँग डर होइन, विनाशकारी बाढीसँग अझै हामीलाई डर छ,’ उनले भने ।

पृथ्वी राजमार्गअन्तर्गत रहेको विनय गेस्ट हाउस तथा खाजा घर सञ्चालन गर्दै आएका श्रेष्ठले वर्षात् सुरु भएसँगै त्रास झन् बढ्ने गरेको बताए । अब फेरि यस्तै विपद् आइपरे के गर्ने भन्ने चिन्ताले आफूलाई सताइरहेको उनको भनाइ छ ।

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याएको थियो । त्यसपछि त्रिशूली नदी किनारका बस्ती तथा बजार क्षेत्रमा बसोबास गर्ने मानिसहरूमा बाढीको त्रास थप गहिरिएको छ ।

रसुवा, नुवाकोट र धादिङ हुँदै बगेको त्रिशूली नदी चितवनको देवघाट पुगेपछि कालीगण्डकीसँग मिसिएर नारायणी नदीका रूपमा अघि बढ्छ । त्रिशूली नदी गहिरो भए पनि यसको किनारमा लामो समयदेखि मानव बस्ती, बजार र विभिन्न व्यवसाय सञ्चालन हुँदै आएका छन् ।

विगतमा पनि त्रिशूलीमा बाढी आउने गरे पनि यस वर्ष भोटेकोशीबाट आएको बाढी असामान्य रूपमा विनाशकारी बनेपछि नदी किनारका बासिन्दामा मनोवैज्ञानिक त्राससमेत बढेको छ । तत्काल ठूलो क्षति नभएका बस्ती तथा बजार क्षेत्रका बासिन्दासमेत अहिले पानी पर्नासाथ नदीको बहाव र सम्भावित जोखिमतर्फ ध्यान दिन बाध्य छन् ।

भौतिक संरचना र व्यवसाय मात्र नभई आफ्नो ज्यानकै जोखिम बढेको महसुस गर्न थालेपछि त्रिशूली किनारका बासिन्दाले दीर्घकालीन सुरक्षा र पूर्वसूचना प्रणालीको आवश्यकता महसुस गरेका छन् । बाढीको जोखिममा रहेका बस्तीको पहिचान गरी सुरक्षित स्थानको व्यवस्थापन र समयमै सूचना पाउने व्यवस्था हुनुपर्ने उनीहरूको माग छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *