मुस्ताङमा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
मुस्ताङ। मुस्ताङको घरपझोङ गाउँपालिकाले आयोजना गरेको ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन २०८३’ आजदेखि सुरु भएको छ। सम्मेलनको उद्घाटन सङ्घीय कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले गरेकी हुन्।
सम्मेलनमा हिमाल, पहाड र तराईमा जलवायु परिवर्तनले पारेका असर, त्यसको न्यूनीकरण तथा स्थानीय तहले अपनाउनुपर्ने अनुकूलनका उपायबारे छलफल भइरहेको गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले बताए। जलवायु परिवर्तनले कृषि र पर्यटनसहित स्वास्थ्य, शिक्षा, पूर्वाधार तथा जनजीवनमा समेत असर पारेको उनको भनाइ छ।
सम्मेलनमा भदौ १० गते रसुवामा आएको बाढीबाट भएको जनधनको क्षतिको समीक्षा गरिनेछ। सम्मेलनको समापनमा जलवायु कार्ययोजना र जलवायु न्यायका लागि स्थानीय तहको संयुक्त सहभागितामा ‘जलवायु घोषणापत्र २०८३’ जारी गरिने आयोजकले जनाएको छ।
मन्त्री चौधरीले जलवायु परिवर्तनको सामना गर्न निजी क्षेत्रलाई सक्रिय सहभागी गराउँदै हरित प्रविधि, नवीकरणीय ऊर्जा, जलवायु अनुकूल कृषि र वातावरणमैत्री पर्यटनमा लगानी बढाउनुपर्ने बताइन्। उनले तीनै तहका सरकारबीच समन्वय, स्थानीय ज्ञानको उपयोग तथा महिला, आदिवासी जनजाति र सीमान्तकृत समुदायको अर्थपूर्ण सहभागितामा जोड दिइन्।
आज शुरु भएको घरपझोङ जलवायु परिवर्तन सम्मेलन भोलि सकिने कार्यसूची रहेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment