त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात पुनः सञ्चालन

डिसी नेपाल
२ असोज २०८३ १०:३८

हेटौंडा। हेटौंडाबाट काठमाडौं आवतजावतका लागि प्रयोग हुने त्रिभुवन राजपथ (बाइरोड) र कान्ति राजमार्गमा शुक्रबारदेखि नियमित रूपमा दुईतर्फी सवारी साधन सञ्चालनमा आएका छन्।

पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर खण्डमा अवरुद्ध रहेको सडक सञ्चालनमा आएसँगै दुवै मार्गमा दुईतर्फी आवागमन खुला गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत सन्तोष सुवेदीले जानकारी दिए।

त्रिभुवन राजपथले हेटौंडालाई पालुङ-नौबिसे हुँदै काठमाडौंसँग जोड्छ भने कान्ति राजमार्गले टीकाभैरव-ललितपुर हुँदै काठमाडौं उपत्यकासँग जोड्छ।

कृष्णभीरमा सडक अवरुद्ध भएपछि यातायातलाई सहज, सुरक्षित तथा व्यवस्थित बनाउन गत भदौ १६ गतेदेखि मालवाहक र ठूला यात्रुवाहक सवारी साधनलाई त्रिभुवन राजपथ भएर काठमाडौं जाने र फर्कँदा कान्ति राजमार्ग प्रयोग गर्ने गरी एकतर्फी व्यवस्था मिलाइएको थियो।

अहिले कृष्णभीर खण्ड सुचारु भइसकेकाले उक्त एकतर्फी व्यवस्था हटाई दुवै राजमार्गमा पूर्ववत् रूपमा दुईतर्फी नै यातायात खुला गरिएको प्रशासकीय अधिकृत सुवेदीले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *