विद्यार्थी नेता रोशन मिश्रद्वारा लोसपाबाट राजीनामा, ‘हुंकार मधेश अभियान’मा लाग्ने घोषणा
काठमाडौं। ‘हुंकार मधेश अभियान’को औपचारिक घोषणा हुने दिन नजिकिँदै गर्दा मधेशवादी दलहरूभित्र राजनीतिक हेरफेर र राजीनामाको क्रम तीव्र बनेको छ।
सोही क्रममा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालसम्बद्ध लोकतान्त्रिक विद्यार्थी संघका केन्द्रीय अध्यक्ष रोशन कुमार मिश्रले पार्टी र भ्रातृ संगठनको साधारण सदस्यसमेत नरहने गरी पदबाट राजीनामा दिएका छन्।
अध्यक्ष मिश्रले मंगलबार पार्टी नेतृत्वलाई राजीनामा पत्र बुझाउँदै चार वर्षदेखि सम्हाल्दै आएको लोकतान्त्रिक विद्यार्थी संघको केन्द्रीय अध्यक्ष पद, सम्पूर्ण संगठनात्मक जिम्मेवारी तथा पार्टीको साधारण सदस्यता त्याग गरेको घोषणा गरेका हुन्।
तत्कालीन तराई-मधेश विद्यार्थी फ्रन्टको साधारण सदस्यबाट राजनीतिक यात्रा सुरु गरेका मिश्रले क्याम्पस कमिटी अध्यक्ष, काठमाडौँ उपत्यका कमिटीको कार्यवाहक अध्यक्ष, केन्द्रीय सदस्य र केन्द्रीय महासचिव हुँदै विगत चार वर्षदेखि विद्यार्थी संघको केन्द्रीय नेतृत्व सम्हाल्दै आएका थिए।
करिब डेढ दशक लामो राजनीतिक यात्रालाई विश्राम दिँदै मिश्रले आगामी दिनमा ‘हुंकार मधेश अभियान’मार्फत अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन्। उनले यो निर्णय कुनै आवेश वा आवेगमा नभई सचेततापूर्वक लिइएको बताउँदै आगामी दिनमा युवा, समाज र मधेशका मुद्दाहरूमा स्वतन्त्र रूपमा काम गर्ने सोच बनाएको स्पष्ट पारेका छन्।
हुंकार मधेश अभियानको घोषणा नजिकिँदै गर्दा विभिन्न राजनीतिक दल र तिनीहरूका भ्रातृ संगठनका नेता-कार्यकर्ताहरू उक्त अभियानमा जोडिने क्रम बढ्दो क्रममा रहेको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment