पोखरा–दुबई नियमित उडान सुरु, अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदा पोखरेलीमा उत्साह
गण्डकी। लामो समयदेखि अन्तर्राष्ट्रिय नियमित उडानको प्रतीक्षामा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबारदेखि दुबईका लागि नियमित व्यावसायिक उडान सुरु भएको छ । फ्लाई दुबईले दुबई–पोखरा–दुबई नियमित उडान सुरु गरेसँगै पोखरा अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिएको छ ।
उडान सुरु हुने दिन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान तथा आगमन कक्षमा बिहानैदेखि चहलपहल बढेको थियो । विदेशबाट सिधै पोखरा फर्किएका यात्रुको स्वागत गर्न आफन्त, स्थानीय जनप्रतिनिधि, सरकारी अधिकारी तथा पर्यटन व्यवसायी विमानस्थल पुगेका थिए । त्यस्तै, पोखराबाट दुबई जाने यात्रुलाई बिदाइ गर्न पनि विमानस्थलमा आफन्तको भीड देखिएको थियो ।
कोही लामो समयपछि घर फर्कन पाउँदा खुसी देखिन्थे भने कोही परिवार तथा आफन्तबाट टाढिँदै विदेश जानुपर्दाको क्षणमा भावुक बनेका थिए । फ्लाई दुबईको पहिलो नियमित उडान हेर्न सर्वसाधारणको समेत विमानस्थल परिसरमा भीड लागेको थियो ।
यसअघि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट केही वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय चार्टर उडान गरे पनि नियमित व्यावसायिक उडान सञ्चालन हुन सकेको थिएन । फ्लाई दुबईले दैनिक उडान तालिकासहित सेवा सुरु गरेपछि पोखरेलीमा उत्साह थपिएको छ ।
दुबईबाट पहिलो उडानमा पोखरा आएका पोखरा महानगरपालिका–३२ का कृष्णबहादुर खड्काले विमानबाट आफ्नो गाउँ र रूपाताल हेर्दै पोखरा ओर्लन पाउँदा निकै खुसी लागेको बताए । विदेशबाट फर्किँदा काठमाडौं हुँदै लामो यात्रा गर्नुपर्ने अवस्थाको अन्त्य भएर सिधै पोखरा आउन पाउनु ठूलो सुविधा भएको उनको भनाइ छ ।
“विदेशबाट आउँदा सिधै पोखरा आएर घर जान पाइने योभन्दा खुसीको कुरा अरू के हुन सक्छ ? लामो समयपछि हामी पोखरेलीको सपना पूरा भएको छ”, उनले भने ।
पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि पोखरेलीले लामो समयदेखि गरेको संघर्ष स्मरण गरे । उनका अनुसार विमानस्थल निर्माणका लागि स्थानीयवासीले आन्दोलनदेखि अनशनसम्मका कार्यक्रम गरेका थिए ।
“पचास वर्षदेखिको हाम्रो सपना पूरा भएको छ । विमानस्थल बनाउन धेरै संघर्ष गर्यौँ, अनशन बस्यौँ । अन्ततः पोखराबाट दुबई नियमित उडान सुरु भएको छ”, उनले भने, “यो हाम्रा लागि गर्वको क्षण हो । अब यसलाई दिगो र प्रभावकारी बनाउने जिम्मेवारी पनि हाम्रै काँधमा आएको छ ।”
नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य सन्तोष पोखरेलले पोखरा अब दुबईसँग मात्र नभई विश्वका अन्य अन्तर्राष्ट्रिय सहरसँग जोडिने आधार तयार भएको बताए । उनका अनुसार दुबईलाई ट्रान्जिट बनाएर विश्वका विभिन्न मुलुकबाट पोखरा आउन सहज हुनेछ ।
“दुबईलाई ट्रान्जिट बनाएर विश्वका धेरै मुलुकबाट अब सजिलै पोखरा आउन सकिने भएको छ । यसले पर्यटनसँगै आर्थिक क्षेत्रमा पनि नयाँ अवसर सिर्जना गरेको छ”, उनले भने ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा–दुबई सिधा उडान पोखरेलीका लागि खुसी र गौरवको विषय भएको बताए । उनले यसले पोखराको पर्यटन, व्यवसाय, रोजगारी तथा समग्र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने अपेक्षा व्यक्त गरे ।
“यो एउटा जहाजको उडान मात्र होइन, पोखराको अन्तर्राष्ट्रिय आकाशतर्फको नयाँ यात्राको सुरुआत पनि हो”, उनले भने ।
फ्लाई दुबईको बोइङ ७३७ म्याक्स ८ जहाज दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब साढे चार घण्टाको उडानपछि बुधबार साँझ ६ः१९ बजे पोखरा अवतरण गरेको थियो । पहिलो उडानमा ११३ जना यात्रु पोखरा आएका थिए । जहाजलाई विमानस्थलमा पानीको फोहराले स्वागत गरिएको थियो ।
पोखराबाट सोही जहाज साँझ ७ः५५ बजे १५२ जना यात्रु लिएर दुबईतर्फ फर्किएको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए । उनका अनुसार नियमित उडान सुरु भएसँगै पोखरासहित सिङ्गो गण्डकी प्रदेशको अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार हुने, पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने र यात्रु आवागमन सहज हुने अपेक्षा गरिएको छ ।
दुबई हुँदै युरोप, अमेरिका तथा अन्य अन्तर्राष्ट्रिय गन्तव्यमा जाने यात्रुलाई समेत यस उडानले सहजता प्रदान गर्ने बताइएको छ । पोखराबाट सिधै दुबई पुगेर त्यहाँबाट अन्य गन्तव्यमा जान सकिने भएकाले यात्राको समय तथा खर्च घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
पहिलो उडानबाट पोखरा आएका यात्रुलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक डा. मुकेश डङ्गोल, विमानस्थलका पदाधिकारी तथा कर्मचारी र पोखरेली पर्यटन व्यवसायीले स्वागत गरेका थिए । पोखराबाट दुबई जाने यात्रुलाई पनि सोही अवसरमा बिदाइ गरिएको थियो ।
नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकीकी अध्यक्ष सङ्गीता पौडेलका अनुसार नेपाल पर्यटन बोर्डको सहयोगमा पहिलो उडानबाट आएका यात्रुलाई विशेष उपहार प्रदान गरिएको थियो । नाट्टामा आबद्ध व्यवसायी, होटल तथा रेष्टुराँ व्यवसायीले समेत यात्रुलाई उपहारसहित आफ्ना व्यवसायका प्रवर्द्धनात्मक सामग्री प्रदान गरेका थिए ।
फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई लक्षित गरी विभिन्न छुट योजना पनि सार्वजनिक गरिएको छ । पोखरा–दुबई सिधा उडानले पर्यटकीय राजधानी पोखरासँगै समग्र नेपालको पर्यटन क्षेत्रलाई लाभ पुग्ने व्यवसायीको अपेक्षा छ ।
फ्लाई दुबईले नियमित उडान सुरु गरेको अवसरमा पोखरामा आयोजना गर्ने भनिएको औपचारिक स्वागत समारोह भने संयुक्त अरब इमिरेट्स (युएई) का राजपरिवारका सदस्य शेख अहमद बिन राशिद अल मक्तुमको निधनका कारण रद्द गरिएको थियो ।
उडान सुरु भएसँगै विदेशी पर्यटकले दुबई हुँदै पोखरा सिधै आउन सक्ने भएका छन् । त्यस्तै, वैदेशिक रोजगारी, अध्ययन तथा घुमफिरका लागि अरब मुलुकसहित अन्य देशमा जाने यात्रुलाई पनि सेवा सहज हुने अपेक्षा गरिएको छ ।
सन् २०२३ जनवरीदेखि सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट यसअघि नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको थिएन । सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवा प्रदायकलाई आकर्षित गर्न कूटनीतिक पहल गर्ने उल्लेख गरेको थियो । त्यसको केही समयपछि फ्लाई दुबईले पोखरा–दुबई उडान सुरु गरेको हो ।
दुबई–पोखरा–दुबई उडान सञ्चालनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले गत जेठ २५ गते फ्लाई दुबईलाई अनुमति दिएको थियो । अन्तर्राष्ट्रिय उडानका लागि वायुसेवा कम्पनीलाई आकर्षित गर्न सरकारले पोखरा विमानस्थलमा लाग्ने विभिन्न शुल्कमा छुटसमेत दिएको छ ।
विसं २०८५ भदौ मसान्तसम्म विमानस्थलको पार्किङ, ल्यान्डिङ तथा नेभिगेसन शुल्क पूर्ण रूपमा छुट गरिएको छ भने ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरिएको छ ।
फ्लाई दुबईको उडानलाई लक्षित गर्दै पोखराका होटल तथा रेष्टुराँ व्यवसायीले पनि यात्रु तथा पर्यटकका लागि छुट योजना ल्याएका छन् । होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार पहिलो तीन महिनाका लागि फ्लाई दुबईबाट पोखरा आउने यात्रु तथा पर्यटकलाई पोखराका होटलमा २५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।
हालसम्म करिब ५० वटा होटल उक्त छुट योजनामा सहभागी भइसकेका छन् । छुट दिने होटलमा पर्यटकस्तरीय होटलसँगै केही तारे होटलसमेत रहेका छन् । पहिलो उडानबाट दुबईदेखि पोखरा आएका यात्रुका लागि एक रातको बास र भोलिपल्ट बिहानको खाजा निःशुल्कसमेत गरिएको थियो ।
रेष्टुराँ एण्ड बार एसोसिएसन (रेवान) पोखराले पनि फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई संस्थामा आबद्ध रेष्टुराँमा १५ देखि २० प्रतिशतसम्म छुट दिने जनाएको छ ।
फ्लाई दुबईको हालको तालिकाअनुसार हरेक दिन साँझ ६ः१५ बजे पोखरा अवतरण गर्ने र साँझ ७ः१५ बजे पोखराबाट दुबईका लागि प्रस्थान गर्ने व्यवस्था गरिएको छ ।
विश्वकै प्रमुख हवाई ट्रान्जिट हबका रूपमा रहेको दुबईसँग पोखराको सिधा हवाई सम्पर्क स्थापित भएपछि पोखरा अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिएको छ । फ्लाई दुबईले विश्वका १२० भन्दा बढी गन्तव्यमा उडान गर्दै आएको छ ।
फ्लाई दुबई र इमिरेट्स एयरलाइन्सबीचको रणनीतिक ‘कोडसेयर’ साझेदारीअन्तर्गत दुबई–पोखरा–दुबई उडान सञ्चालन भएकाले पोखराबाट अष्ट्रेलिया, युरोप तथा अमेरिकालगायत विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यमा जाने यात्रुले एउटै टिकटमार्फत यात्रा गर्न सक्ने सुविधा प्राप्त हुने बताइएको छ । यसले पोखरालाई अन्तर्राष्ट्रिय पर्यटक तथा यात्रुको प्रत्यक्ष पहुँचमा पुर्याउने अपेक्षा गरिएको छ ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment