काठमाडौंमा ‘फ्युजन फाइट च्याप्टर १’ मुवाथाई प्रतियोगिता हुने, मुख्य विजेताले एक लाख रुपैयाँ पाउने

डिसी नेपाल
८ असोज २०८३ २०:११

काठमाडौं।  नेपालको खेलकुद क्षेत्रमा व्यावसायिक मुवाथाई प्रतियोगिता ‘फ्युजन फाइट च्याप्टर १’ को औपचारिक घोषणा गरिएको छ। आगामी असोज २४ गते काठमाडौँको ठमेलस्थित ‘लर्ड अफ द ड्रिंक्स’ (एलओडी) मा यो प्रतियोगिता आयोजना हुन लागेको हो।

नेपाली मार्सल आर्ट्स तथा भिडन्त खेलकुदलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने उद्देश्यका साथ फ्रोथ फ्युजनले यो इभेन्ट आयोजना गर्न लागेको हो। आयोजकका अनुसार दिउँसो १२ बजेदेखि दर्शकहरूका लागि प्रवेशद्वार खुल्नेछ।

प्रतियोगितामा देशभरका उत्कृष्ट २२ जना फाइटरहरूबीच ११ वटा प्रतिस्पर्धात्मक भिडन्त हुनेछन्। इभेन्टको मुख्य आकर्षणका रूपमा सुष्मा चौधरी र रजिना विष्ट आमनेसामने हुनेछन्।

प्रतिस्पर्धालाई थप रोमाञ्चक र खेलाडीहरूलाई प्रोत्साहन गर्न विभिन्न विधामा आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ। मुख्य भिडन्तका विजेताले एक लाख रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

त्यसै गरी अन्य व्यावसायिक भिडन्तका विजेताहरूले क्रमश: ५० हजार र ४० हजार रुपैयाँ पाउनेछन् भने उपविजेताहरूले २५ हजार र २० हजार रुपैयाँ हात पार्नेछन्। सेमि-प्रो फाइटतर्फका विजेतालाई २० हजार र उपविजेतालाई १० हजार रुपैयाँ प्रदान गरिनेछ।

फ्रोथ फ्युजनका प्रबन्ध निर्देशक रोशन सुवेदीले नेपाली मुवाथाई खेलाडीहरूको क्षमता र अनुशासनलाई विश्वस्तरीय मञ्चमा प्रस्तुत गर्न यो प्रतियोगिता कोसेढुङ्गा साबित हुने बताए। उनले यो प्रतियोगिता केवल एउटा खेल मात्र नभएर नेपाली भिडन्त खेलकुदको नयाँ युगको सुरुवात भएको दाबी गरे।

प्रतियोगिताको प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्स एचडी, कान्तिपुर म्याक्स एचडी २ र युट्युबमार्फत हुनेछ भने ‘म्याक्स अन’ एपमार्फत लाइभ स्ट्रिमिङ गरिनेछ। कार्यक्रमको टिकटिङ साझेदारका रूपमा इसेवा रहेको छ।

त्यसै गरी मिडिया साझेदारमा रुटिन अफ नेपाल बन्द र रुटिन अफ नेपाल बन्द स्पोर्ट्स, आतिथ्य साझेदारमा द प्लाजा, पेस-अफ साझेदारमा स्काइवाक, प्रवर्द्धक साझेदारमा ग्रो इट र निर्माण साझेदारका रूपमा बिग ब्राकेट रहेका छन्।

हलमा गएर प्रत्यक्ष खेल हेर्न चाहने दर्शकहरूका लागि टिकटको मूल्य एक हजार रुपैयाँ तोकिएको छ, जसको खरिद इसेवा एपमार्फत गर्न सकिने आयोजकले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *