भारी वर्षाको सम्भावना: गण्डकी बेसिनका जलविद्युत आयोजनामा उच्च सतर्कता
काठमाडौं। असोज ९ देखि ११ गतेसम्म भारी वर्षा हुने प्रक्षेपण गरिएपछि गण्डकी बेसिनमा रहेका जलविद्युत आयोजनाहरूलाई उच्च सतर्कता अपनाउन लगाइएको छ।
मौसम पूर्वानुमान महाशाखाले भारी वर्षाबाट गण्डकी क्षेत्र धेरै प्रभावित हुने प्रक्षेपण गरेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको विद्युत विकास विभागले सो क्षेत्रका सबै हाइड्रोपावरहरूलाई ‘हाई अलर्ट’मा राखेको हो।
विभागका महानिर्देशक सागरराज गौतमले नेपाल विद्युत प्राधिकरणअन्तर्गतका आयोजना र निजी क्षेत्रबाट सञ्चालित आयोजनाहरूमा उच्च सतर्कता अपनाइएको बताए।
उनका अनुसार विद्युत प्राधिकरणले आफ्ना सम्पूर्ण आयोजनाहरूलाई मौसमको निरन्तर जानकारी लिँदै सोहीअनुसार सुरक्षा उपाय अपनाउन निर्देशन दिएको छ भने निजी क्षेत्रका तर्फबाट इप्पानले समन्वय गरिरहेको छ।
बिहीबार बेलुकी बसेको नेपाल विद्युत प्राधिकरणको सञ्चालक समिति बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले भोटेकोशीको बाढीबाट पाठ सिक्दै मौसम प्रणालीको निरन्तर अपडेट लिन र गण्डकीलगायत सम्भावित क्षेत्रका जलविद्युत तथा विद्युत पूर्वाधारको सुरक्षामा सतर्कता अपनाउन निर्देशन दिएका थिए।
विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले गण्डकीका सबै आयोजनाहरूलाई २४सै घण्टा उच्च सतर्कतामा राखिएको जानकारी दिए। उनले प्राधिकरणबाट निरन्तर समन्वय भइरहेको र निजी क्षेत्रबाट इप्पानले प्राधिकरणमा प्रतिनिधि नै खटाएर समन्वय गरिरहेको बताए।
भोटेकोशीको बाढीबाट विद्युत पूर्वाधार, जलविद्युत आयोजना र सबस्टेसनमा क्षति पुगी १० प्रतिशत बिजुली प्रणाली बाहिर गएपछि सरकारले अब आउन सक्ने विपत्तिको सामना गर्न पूर्वतयारी र पूर्वसूचनामा विशेष ध्यान दिएको ऊर्जा मन्त्रालयका प्रवक्ता मोहनकुमार शाक्यले बताए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment