‘गोजीका मान्छे’ ल्याउन नदिन काठमाडौं-३ का युवाको चुनावी अडान
काठमाडौं। नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत क्षेत्रीय अधिवेशन नजिकिँदै गर्दा काठमाडौँ क्षेत्र नम्बर ३ मा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयासप्रति स्थानीय युवा नेताहरूले तीव्र असन्तुष्टि र आक्रोश व्यक्त गरेका छन्।
क्षेत्रका विभिन्न तहमा सक्रिय युवा नेताहरूले सहमतिका नाममा सम्भावना बोकेका युवाहरूलाई नेतृत्वको प्रतिस्पर्धाबाट वञ्चित गर्न नहुने अडान राख्दै चुनावी प्रतिस्पर्धाबाटै क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधि चयन हुनुपर्ने माग गरेका हुन्।
उम्मेदवारी घोषणा गर्दै चुनावी मैदानमा उत्रिने तयारी गरेका युवाहरूको तर्क छ- लोकतन्त्रको मूल आत्मा भनेकै निर्वाचन हो। उम्मेदवारी दिने, खुला प्रतिस्पर्धा गर्ने र हार-जितलाई सहर्ष स्वीकार गर्ने स्वस्थ अभ्यासबाटै पार्टीमा सक्षम र नयाँ पुस्ताको नेतृत्व तयार हुन्छ।
क्षेत्रीय सभापति पदका आकांक्षी २९ वर्षीय युवा शिव श्रेष्ठले आफू चुनावबाटै निर्वाचित भएर नेतृत्वमा आउन चाहेको स्पष्ट पारे। १५ वर्षदेखि कांग्रेस राजनीतिमा निरन्तर सक्रिय श्रेष्ठले सहमतिको नाममा कसैलाई पाखा लगाएर राजनीतिक वृत्ति विकास रोक्न नहुने बताए।
“उम्मेदवारी दिएर परीक्षणमा जानु नै भोलिका लागि परिपक्व नेता उत्पादन गर्नु हो,” श्रेष्ठले भने, “यस्तो संवेदनशील समयमा बदलिएको कांग्रेसले सहमतिका नाममा सम्भावना बोकेका युवाहरूलाई रोक्नु कदापि राम्रो मान्न सकिँदैन।” अधिवेशनमा सबैले उम्मेदवारी दिन पाउने र चुनावको हार-जितलाई स्वाभाविक मान्ने वातावरण बन्नुपर्नेमा उनले जोड दिए।
महाधिवेशन प्रतिनिधिका आकांक्षी ३६ वर्षीय अर्का युवा नेता कृष्ण शाहले सर्वसम्मतिको अभ्यासले पार्टीमा नातावाद, कृपावाद र चापुलसीलाई प्रश्रय दिने दाबी गरे। चाकडी र चापुलसीका भरमा नेतृत्व हथियाउनेभन्दा पार्टीमा लामो समय योगदान दिएका र सङ्गठनमा पसिना बगाएका व्यक्तिहरूलाई चुनावी प्रक्रियाबाट परीक्षण गरिनुपर्ने उनको भनाइ छ।
“सर्वसम्मतिको नाममा कतै नातावाद त कतै कृपावाद हाबी हुन्छ। जो नेताको चाकडी-चापुलसीमा पोख्त छ, उही मात्र अघि देखिन्छ,” शाहले आक्रोश व्यक्त गर्दै भने, “निर्वाचन नै आफ्नो क्षमता र योग्यता मापन गर्ने एकमात्र लोकतान्त्रिक यन्त्र हो। सर्वसम्मतिका नाममा अयोग्य तर चाकडीबाज व्यक्तिहरू अघि बढ्दा पार्टीभित्र झन् ठूलो मनमुटाव र असन्तोष सिर्जना हुन्छ।”
यसैगरी कागेश्वरी मनोहरा नगरपालिकाका नेविसंघ सभापति तथा ३५ वर्षमुनिको कोटाबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिका आकांक्षी २५ वर्षीय प्रशान्त खड्काले युवाहरूलाई अब आमसभा र जुलुसमा भीड देखाउने भूमिकामा मात्र सीमित राख्न नहुने बताए।
“युवाहरू अब केवल ‘मास’ देखाउनका लागि होइन, ठोस नेतृत्व लिन अगाडि सरेका हुन्,” खड्काले भने, “पार्टीले युवालाई दिएको अवसरलाई हामीले निर्वाचनका माध्यमबाट सदुपयोग गर्न पाउनुपर्छ। बन्द कोठामा सर्वसम्मत गर्दा नेताको घर धाइरहने मान्छेले मात्रै अवसर पाउँछन्, तर चुनाव हुँदा मैदानमा खटिएका र योगदान दिएका वास्तविक कार्यकर्ता चुनिन्छन्।” उनले चुनावी प्रतिस्पर्धामा आफूभन्दा सक्षम व्यक्ति चुनिए सहर्ष स्वीकार गर्दै आगामी महाधिवेशनका लागि थप मेहनत गर्ने प्रतिबद्धतासमेत जनाए।
स्ववियु सभापति भई नेविसंघमा लामो समय काम गरेका ३१ वर्षीय अर्का युवा नेता मुरारी गौतमले पनि क्षेत्रीय नेतृत्वदेखि महाधिवेशन प्रतिनिधि चयनसम्मको सम्पूर्ण प्रक्रिया निर्वाचनबाटै अघि बढ्नुपर्ने माग गरे। आफू महाधिवेशन प्रतिनिधिको आकांक्षी रहेको बताउँदै गौतमले भने, “अब हामी हेरेर बस्दैनौँ, आफैँ अगाडि बढेर नेतृत्व लिन्छौँ।”
सर्वसम्मतिका नाममा केही नेताहरूले बन्द कोठामा छलफल गरेर लोकतान्त्रिक प्रक्रिया रोक्न खोजेको भन्दै उनले त्यसलाई कडा शब्दमा अस्वीकार गरे। “नेताको निकटताका आधारमा प्रतिनिधि चुन्ने अभ्यासले नयाँ पुस्तालाई अवसरबाट वञ्चित गर्छ। सर्वसम्मतिका नाममा ढोका थुनेर नेताका ‘गोजीका मान्छे’ ल्याउन खोजिएको छ, जुन हामीलाई कुनै हालतमा स्वीकार्य हुनेछैन,” गौतमले चेतावनी दिए।
काठमाडौं-३ का युवा नेताहरूको यो एकजुट अडानले १५औँ महाधिवेशनअन्तर्गत क्षेत्रीय अधिवेशनमा पुराना र स्थापित नेताहरूलाई ठूलो दबाब सिर्जना गरिदिएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment