पाल्पामा पहिरोको बितण्डा: दुई घर ध्वस्त, एक महिला बेपत्ता र आधा दर्जन सडक अवरुद्ध
पाल्पा। अविरल वर्षासँगै आएको पहिराले पाल्पामा ठूलो क्षति पुर्याएको छ। पहिरोका कारण घर ढल्नुका साथै विभिन्न सडकखण्ड अवरुद्ध भएका छन् भने एक जना महिला बेपत्ता भएकी छन्।
रिब्दीकोट गाउँपालिका-६ धुस्तुङस्थित गोलफानमा शुक्रबार दिउँसो नयाँ निर्माण गरिएको मोटरबाटोबाट लेदो र ढुङ्गामाटो खस्दा स्थानीय केसुराम सारुमगर र रामबहादुर उचईका कच्ची घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।
पहिरोमा परी केसुरामकी ५९ वर्षीया श्रीमती कृष्णकुमारी सारु बेपत्ता भएकी छन् भने रामबहादुरको चार जनाको परिवार र केसुरामका अन्य सदस्य सकुशल रहेका छन्। निरन्तरको वर्षा र खसिरहेको लेदोका कारण उद्धार र खोजीकार्यमा कठिनाइ भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिएका छन्।
यस्तै, सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ गाउँपालिका-३ को तल्लो सिद्धबाबा मन्दिर नजिकै तथा तिनाउ-५ को चरचरे र जोरधाराबीचमा माथिबाट ढुङ्गा खसेर सडक अवरुद्ध भएको थियो। पहिरो पन्छाएर केही समय सडक खुलाइए पनि लेदो र ढुङ्गा खस्ने क्रम भने रोकिएको छैन।
जोखिमलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालयले दोभान–सिद्धबाबा सडकखण्डमा बेलुकी ७:०० देखि बिहान ५:०० बजेसम्म रात्रिकालीन सवारी आवागमनमा रोक लगाएको छ।
त्यसैगरी तानसेन-हार्थोक-छहरा सडकखण्डका विभिन्न स्थानमा पहिरो खस्दा सदरमुकाम तानसेनबाट पश्चिम भेग जोड्ने प्रमुख यातायात ठप्प भएको छ। हार्थोक–बतासे सडकको कसुमखोला क्षेत्रमा निर्माणाधीन सडकमाथिबाट खसेको पहिरोले बिरामी बोकेका एम्बुलेन्स तथा दुग्ध ढुवानीका सवारीसाधन बीच बाटोमै अलपत्र परेका छन्। स्थानीय प्रशासन र प्रहरीले सडक खुलाउने प्रयास गरिरहे पनि निरन्तरको वर्षाले अवरोध पुर्याइरहेको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment