तिनाउको बाढीले बुटवलमा दुई घर बगायो, तीन घरमा क्षति
भैरहवा । अविरल वर्षापछि तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका–११ स्थित टप मजुवा क्षेत्रमा दुई वटा घर बगाएको छ भने तीन वटा घरमा आंशिक क्षति पुगेको छ ।
गए राति तिनाउ नदीको जलसतह सतर्कता तह पार गरेपछि आएको बाढीले स्थानीय दुर्गा बानियाँसहित उनका छिमेकीको घर पूर्ण रूपमा बगाएको हो । बाढीसँगै भएको नदी कटानका कारण नरेन्द्र दर्जी, सकिल मियाँ र अब्दुल अलीको घरमा समेत आंशिक क्षति पुगेको छ ।
बाढीबाट घरमा क्षति भएपछि प्रभावित परिवारलाई स्थानीय जनप्रतिनिधि तथा सुरक्षाकर्मीको टोलीले तत्काल उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार जोखिममा रहेका बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा सारेर आवश्यक राहत तथा अस्थायी आश्रयको व्यवस्था गरिएको छ ।
तिनाउ नदीको जलसतह बढ्दै गएपछि स्थानीय प्रशासन तथा जल तथा मौसम विज्ञान विभागले नदी किनार, तटीय क्षेत्र र होचा भूभागमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन तथा सुरक्षित स्थानमा जान आग्रह गरेको थियो । सोहीअनुसार जोखिमयुक्त क्षेत्रमा रहेका परिवारलाई सुरक्षित स्थानमा सार्ने काम जारी रहेको जनप्रतिनिधिले बताएका छन् ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment