लघुकथा : गधा धोएर… 

कृष्ण बोहरा
१७ असोज २०८३ ७:४०

अगमसिंह फतफताउँदै छिमेकीको घरतिर गइरहेको थियो। उसले भन्दै थियो, “हाम्रा नेताले त गधालाई पनि गाई बनाइदिन्छन्!”

छिमेकी रम्बा तुम्बाहाम्फेले हाँस्दै भनिन्, “गधा धोएर गाई हुँदैन भनेको त दाजुलाई थाहै होला! यो काम त अरू कसैलाई पनि सम्भव छैन।”

“तर कुनै-कुनै नेताले भने त्यो काम पनि सजिलै गर्ने रहेछन्,” उसले आफ्नो आक्रोश पोख्यो।

रम्बाले उत्सुक हुँदै सोधिन्, “कसरी हो र दाजु?”

“लौ सुन्नुहोस् बहिनी! त्यो गधाले आफूलाई दह्रोसँग बोक्न सक्छ भन्ने लागेमा, त्यस्ता नेताले गधालाई पखाली-पखाली गाई बनाउन सक्ने रहेछन्।”

“अलि खुलस्त भन्नुहोस् न दाजु, मजस्तो सोझीलाई त तपाईंको कुरा बुझ्न गारै पर्ने भो,” रम्बाले पुनः भनिन्।

अगमसिंहले फेरि सम्झाउँदै सुनायो, “ल सुन्नुहोस् बहिनी! बीसौं वर्षदेखि पुलको ठेक्का ओगटेर काम नगर्ने ठेकेदार, ठग, भ्रष्टाचारी तथा चुनावको मुखमा टिकट नपाएर अर्कै पार्टीमा जाने अवसरवादीलाई समेत आफ्नै पार्टीमा भित्र्याएर, पखाली-पखाली असल मान्छे हो भनेर प्रचार गर्नु भनेको गधा धोएर गाई बनाएको भएन त?”

त्रिपुरासुन्दरी गाउँपालिका-६, टेकानपुर, सिन्धुपाल्चोक


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *