म्यानमारको सेनाले आफ्नै देश बम बर्सायो, ४९ को मृत्यु

डिसी नेपाल
१३ असोज २०८३ १३:५०

काठमाडौं । म्यानमारको सेनाले सोमबार पश्चिमी रखाइन राज्यको एक बजारनजिक हवाई हमला (एअरस्ट्राइक) गरेको छ। यस हमलामा कम्तीमा ४९ जनाको मृत्यु भएको छ भने ५८ जना घाइते भएको समाचार एजेन्सी एपीले जनाएको छ।

यो क्षेत्र शक्तिशाली विद्रोही सङ्गठन आराकान आर्मीको नियन्त्रणमा रहेको छ। हमलाको समयमा बजारमा व्यापारी र ग्राहकहरूको भीड थियो। आराकान आर्मीले हमलामा मानिसहरू मारिएको जानकारी दिएको छ।

आराकान आर्मीका अनुसार, सेनाको लडाकु विमानले बजारनजिक दुईवटा बम खसालेको थियो। घाइतेमध्ये २२ जनाको अवस्था गम्भीर रहेको छ। यद्यपि, म्यानमारको सेनाले यस हमलाका विषयमा कुनै बयान दिएको छैन।

आराकान आर्मीले मंगलबार बिहानै जारी गरेको वक्तव्यमा हमलाका लागि जिम्मेवार मानिसहरू र सङ्गठनहरूविरुद्ध चाँडै जवाफी कारबाही गर्ने बताएको छ। सङ्गठनले नियतवश गरिएको हवाई हमलामा ठूलो सङ्ख्यामा सर्वसाधारणको ज्यान गएको आरोप लगाएको छ।म्यानमारको सेनाले हमलाका विषयमा तत्काल कुनै टिप्पणी गरेन।

यद्यपि, सेनाले यसअघि आफ्ना हवाई हमलाहरूको निसाना केवल सैन्य ठेगानाहरू मात्र हुने गरेको दाबी गर्दै आएको छ। उसले सैन्य शासनको विरोध गर्ने सङ्गठनहरूमाथि आतङ्कवादमा संलग्न भएको आरोप पनि लगाउँदै आएको छ।

म्यानमारमा सन् २०२१ फेब्रुअरी १ मा सेनाले आङ सान सु कीको निर्वाचित सरकारलाई सत्ताबाट हटाएको थियो। त्यसपछि देशभर विरोध प्रदर्शनहरू सुरु भए। सुरक्षा बलले यी प्रदर्शनहरूलाई बलपूर्वक दबाएपछि सैन्य शासनका धेरै विरोधीहरूले हतियार उठाएका थिए। त्यसयता देशका ठूला भागहरूमा सङ्घर्ष जारी छ।

आराकान आर्मी राखाइनको जातीय अल्पसङ्ख्यक समुदायलाई बढी स्वायत्तता दिलाउने माग गर्ने आन्दोलनको सशस्त्र सङ्गठन हो। यसले नोभेम्बर २०२३ मा राखाइनमा सैन्य अभियान सुरु गरेको थियो। त्यसपछि यस सङ्गठनले राज्यका १७ मध्ये १४ टाउनसिप र एक महत्त्वपूर्ण क्षेत्रीय सैन्य मुख्यालयमाथि कब्जा जमाएको थियो।

राखाइनमा लडाइँ तीव्र भएपछि म्यानमारको सेनाले व्यापारिक मार्गहरूमा कडा प्रतिबन्ध लगाएको छ। यसले गर्दा उक्त क्षेत्रमा खाद्यान्नको अभाव बढेको छ।यसअघि डिसेम्बरमा राखाइनको म्राउक-यू टाउनसिपस्थित एक अस्पतालमा भएको हवाई हमलामा कम्तीमा ३४ जनाको मृत्यु भएको थियो भने ८० जना घाइते भएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *