नेतान्याहुलाई हमासको आक्रमणबारे पहिल्यै थाहा थियो, रोक्नका लागि केही गरेनन्
काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासको आक्रमणभन्दा अघि कैयौँ चेतावनीहरू पाएका थिए। अमेरिकी पत्रिका ‘वाल स्ट्रिट जर्नल’ को रिपोर्टअनुसार, मिस्रले आक्रमणभन्दा करिब ४८ घण्टा अघिसम्म इजरायललाई सचेत गराएको थियो।
मिस्रको गुप्तचर निकायका तत्कालीन प्रमुख अब्बास कामेलले पनि आक्रमण हुनुअघि नेतान्याहुको कार्यालयमा फोन गरेका थिए।
इजरायलका पूर्व रक्षा मन्त्री योआव ग्यालेन्टले पनि इजरायलले सम्भावित आक्रमणको चेतावनी पाएको बताएका छन्। ग्यालेन्टले आर्मी रेडियोलाई दिएको अन्तर्वार्तामा नेतान्याहुले आक्रमणभन्दा अघि प्राप्त भएका महत्त्वपूर्ण जानकारीहरू सुरक्षा अधिकारीहरूसँग सेयर नगरेको आरोप लगाएका छन्।
७ अक्टोबर २०२३ मा हमासका लडाकुहरूले गाजा सीमा पार गरी इजरायलका समुदायहरू र सैन्य ठेगानाहरूमाथि आक्रमण गरेका थिए। यस हमलामा करिब १,२०० जना मारिएका थिए, करिब ५,००० घाइते भएका थिए र करिब २५० जनालाई बन्धक बनाइएको थियो।
वाल स्ट्रिट जर्नलको रिपोर्टअनुसार, मिस्रले जुन २०२३ मा नै इजरायललाई गाजाको स्थिति बिग्रन सक्ने आशङ्का व्यक्त गरेको थियो। मिस्रले इजरायललाई हमाससँग बन्धकहरू र कैदीहरूको साटासाटका विषयमा पुनः वार्ता सुरु गर्न सल्लाह पनि दिएको थियो।
सेप्टेम्बरमा मिस्रका गुप्तचर प्रमुख अब्बास कामेलले इजरायलको भ्रमण गरेका थिए। रिपोर्टअनुसार, उनले गाजाको स्थिति बिग्रँदै गएको र यो परिस्थिति कुनै ठूलो सङ्कटमा परिणत हुन सक्ने चेतावनी दिएका थिए। इजरायली अधिकारीहरूले भने त्यसबेला स्थिति नियन्त्रणमा रहेको बताएका थिए।
पूर्व रक्षा मन्त्री ग्यालेन्टले इजरायल-हमास युद्धका क्रममा नेतान्याहुले अमेरिकी अधिकारीहरूसँग संवेदनशील मुद्दाहरूमा भएका कुराकानीको जानकारी पनि वरिष्ठ सुरक्षा अधिकारीहरूसँग साझा नगरेको आरोप लगाए।
उनले भने, “युद्धका क्रममा मलाई धेरैपटक नेतान्याहुको अमेरिकीहरूसँग भएका महत्त्वपूर्ण कुराकानीबारे तब मात्र थाहा हुन्थ्यो, जब अमेरिकी अधिकारीहरूले मलाई फोन गरेर कुराकानीमा भनिएका कुराहरूको पुष्टि गर्ने प्रयास गर्दथे।”
ग्यालेन्टका अनुसार, यी कुराकानीहरूमा बन्धकहरू र गोला-बारुद जस्ता संवेदनशील मुद्दाहरू समावेश थिए। उनले अमेरिकी अधिकारीहरूको नेतान्याहुमाथिको विश्वास कम रहेको पनि बताए।
यसअघि ‘न्यूयोर्क टाइम्स’ को एक रिपोर्टमा पनि यूएईका राष्ट्रपति मोहम्मद बिन जायद अल नाहयानले सेप्टेम्बर २०२३ मा नेतान्याहुलाई हमासको सम्भावित ठूलो आक्रमणका बारेमा बताएको दाबी गरिएको थियो। रिपोर्टमा कुराकानीको जानकारी राख्ने दुई जनाको हवाला दिँदै यो कुरा भनिएको थियो।
न्युयोर्क टाइम्सका अनुसार, इजरायलका पाँच जना पूर्व वरिष्ठ अधिकारीहरूले यूएईको यो चेतावनी देशको सुरक्षा संयन्त्रका शीर्ष अधिकारीहरूसम्म नपुगेको बताएका थिए।
नेतान्याहुले यूएईसँग जोडिएका चेतावनीका आरोपहरूलाई खण्डन गरेका थिए। उनले उक्त रिपोर्टलाई पूर्ण रूपमा झुटा बताएका थिए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment