मुग्लिन–पोखरा सडकको पश्चिम खण्डको काम अन्तिम चरणमा
काठमाडौं। मुग्लिन–पोखरा सडक आयोजनाको जामुने–पोखरा पश्चिम खण्डको निर्माण आगामी नोभेम्बरभित्र सक्ने लक्ष्य राखिएको छ।
विद्युत् पोल सार्ने, मादी पुलको पहुँच मार्गका लागि जग्गा प्राप्त गर्ने र दमौली डिभिजन कार्यालय स्थानान्तरण गर्ने समस्या समाधान भएपछि निर्माणले गति लिएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ।
३८.४१ किलोमिटर लामो पश्चिम खण्डमा मुख्य चार लेन सडक र पुललगायतका प्रमुख संरचनाको निर्माण सकिएको र कुल ३८ किलोमिटर सर्भिस लेनमध्ये करिब ३२ किलोमिटर बनेको छ। त्यस्तै फुटपाथ र बाँकी करिब ६ किलोमिटर सर्भिस लेनको काम नोभेम्बरभित्र पूरा गर्ने लक्ष्य रहेको मन्त्रालयले जनाएको छ।
३१० मिटर लामो मादी आर्क पुलको संरचना बनिसकेको छ। पुलको फिनिसिङ र पहुँच सडक निर्माण बाँकी छ। १९० मिटर लामो सेती पुलको करिब ७० प्रतिशत काम पूरा भएको र बाँकी काम आगामी अप्रिलसम्म सक्ने तालिका रहेको छ।
आयोजनाको आबुखैरेनी–जामुने पूर्वी खण्डको निर्माण सम्पन्न भइसकेको छ भने सडक सुरक्षाका लागि जोखिमयुक्त पहिरो रोकथामसम्बन्धी थप अध्ययन र ठेक्का प्रक्रिया अघि बढाइएको मन्त्रालयले जानकारी दिएको छ।
मुग्लिन–आबुखैरेनी खण्डको करिब आठ किलोमिटरमध्ये चार किलोमिटर सडक मर्स्याङ्दी नदीपारिबाट बनाउने ठेक्का प्रक्रिया पनि सुरु गरिएको मन्त्रालयले जनाएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment