कविता : आवाजविहीन मान्छे

प्रकाशचन्द्र खतिवडा
१७ असोज २०८३ ७:३७

मलाई समाधिस्थ गरियोस्

मेरो मृत्युअगावै,

र वकपत्र गराइयोस्

जीवन लिलामीको!

म जिउँदो इतिहास कुल्चेर

देशभक्तहरूको टाउको कति काटूँ?

देख्नेहरूलाई लाग्न सक्छ-

म कति क्रूर छु?

एउटा मान्छे,

मान्छेहरूकै नृशंस हत्या गर्छ,

कुल्चन्छ मानवता,

र पौडिन्छ रगतको आहालमा।

समय अनपेक्षित थियो,

जीवनका अनगिन्ती काला खण्डहरू गुजार्दै

मैले बीभत्सताको पहाड चढ्नुपूर्व नै

गुमाइसकेको रहेछु मानवता!

मलाई ख्यालै भएन संवेदनाको,

म हाँसिरहेँ मान्छेको मृत्युमा पनि।

जुन बेला म भोकसँग लडिरहेको थिएँ,

जुन बेला म रोगसँग जुधिरहेको थिएँ,

ओत लाग्ने छाप्रो नभएपछि

पुरातन संस्कारले थिचिएर

म शासित हुन्थेँ,

र ममाथि शासन गर्ने शासकहरू उन्मत्त हाँस्थे।

सुन्दर सृष्टिका फूलहरू

बेमौसमी आँधीले चुँडालेझैँ

चुँडिनुपर्थ्यो जीवनको चङ्गा,

तर चुँडिएन जीवनरुपी चङ्गा!

म बाँचिरहेँ आँसु पिएर।

पेट पाल्नैपर्यो,

म विवशता पिउँदै

कठपुतली सैनिकको बर्दी धारण गरी

काटिरहेछु मान्छेका टाउकाहरू।

बाध्यताको पहाडले थिचेपछि

मान्छे क्रूर बन्नुपर्ने रहेछ,

क्रूरताको पराकाष्ठा निरङ्कुशता रहेछ।

म निरङ्कुशताको दौरा-सुरुवाल पहिरिएर

प्रजातन्त्रको हत्या गर्दो रहेछु,

अनि खोस्दो रहेछु मौलिक हक।

मलाई थाहै भएन—

देशभक्तहरू देश खोजिरहेका हुन्छन् भन्ने कुरा,

आफू मरेर देश बचाउँछन् भन्ने कुरा!

मैले देखेको थिएँ राता झण्डाहरू,

मैले सुनेको थिएँ इन्कलाबका नाराहरू,

र देखेको थिएँ प्लेकार्ड, तुल र ब्यानरहरू।

मेरो विवशता मान्छेले बुझ्लान् या नबुझ्लान्?

मेरो मन नौनीजस्तै सेतो छ,

पत्याउँदैनन् मान्छेहरू,

अविश्वासका पर्दाहरू हल्लिरहेछन्।

मलाई पाखण्डीको उपमा नदेऊ,

म त आफैँ आवाज हराएको आवाजविहीन मान्छे हुँ।

सुन्दरहरैँचा–६, दुलारी, मोरङ

इमेल: [email protected]


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *