प्रवासी नेपाली मञ्च कतारद्वारा अक्टोबर ९ मा बृहत् रक्तदान कार्यक्रम आयोजना हुँदै

डिसी नेपाल
१८ असोज २०८३ १४:२२

दोहा। प्रवासी नेपाली मञ्च, कतारले “रक्तदान, जीवन दान” भन्ने मूल नाराका साथ बृहत् रक्तदान कार्यक्रम-२०२६ आयोजना गर्ने भएको छ।

मञ्चको आयोजना तथा नेपाली रक्तदाता सङ्घ, कतारको समन्वयमा आगामी ९ अक्टोबर २०२६ (आउँदो शुक्रबार) का दिन हमाद हस्पिटल ब्लड डोनेसन सेन्टरमा सो कार्यक्रम हुन लागेको हो। कार्यक्रम बिहान ९:०० बजेदेखि दिउँसो १२:०० बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।

रक्तदान मानवीय सेवाको अत्यन्तै महत्त्वपूर्ण कार्य भएकाले कतारमा कार्यरत तथा बसोबास गर्दै आएका नेपाली समुदायका इच्छुक र स्वस्थ व्यक्तिहरूलाई कार्यक्रममा सहभागी भई रक्तदान गर्न मञ्चले विशेष आग्रह गरेको छ।

यस परोपकारी कार्यमा कतारस्थित विभिन्न नेपाली संघ-संस्था तथा सामुदायिक सङ्गठनहरूले पनि सहयोगी संस्थाका रूपमा सहभागिता जनाउने भएका छन्।

दुर्घटना, जटिल शल्यक्रिया, प्रसूति तथा विभिन्न आकस्मिक स्वास्थ्य समस्यामा परेका बिरामीहरूका लागि रगतको समयमै उपलब्धता जीवनदायी हुने गर्दछ। रगतको कुनै कृत्रिम विकल्प नभएकाले बिरामीको ज्यान जोगाउन स्वस्थ मानिसको रक्तदान नै एकमात्र माध्यम हो। यसले जीवन बचाउनुका साथै समाजमा मानवीय सहयोग, सामाजिक उत्तरदायित्व र आपसी सद्भावलाई थप मजबुत बनाउने विश्वास लिइएको छ।

“आज तपाईंले दिएको रगत भोलि कसैको जीवन बन्न सक्छ” भन्ने भावनालाई आत्मसात् गर्दै मञ्चका सचिव रघुनाथ शर्माले कतारवासी सम्पूर्ण नेपाली समुदायलाई सो दिन उपस्थित भई रक्तदान गर्न अपिल गरेका छन्।

कार्यक्रमको संक्षिप्त विवरण:

  • मिति: ९ अक्टोबर २०२६

  • समय: बिहान ९:०० बजेदेखि दिउँसो १२:०० बजेसम्म

  • स्थान: हमाद हस्पिटल ब्लड डोनेसन सेन्टर, कतार

  • आयोजक: प्रवासी नेपाली मञ्च, कतार

  • समन्वय: नेपाली रक्तदाता सङ्घ, कतार


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *