प्रचण्डद्वारा नेकपा बैठक आह्वान: महाधिवेशन र झलनाथ खनालको ‘अभियान’बारे छलफल हुने
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले केन्द्रीय कार्यसंयोजन समितिको बैठक बोलाएको छ। पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही २३ गते काठमाडौंको पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा बस्ने गरी बैठक आह्वान गर्नुभएको हो।
पार्टी प्रवक्ता प्रकाश ज्वालाका अनुसार बिहान ११ बजेबाट सुरु हुने उक्त बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, पार्टी महाधिवेशनको तयारी र दुई महिने अभियानबारे विस्तृत छलफल हुनेछ। ‘महाधिवेशनको कार्यतालिका तय गर्न र दुई महिने सांगठनिक अभियानबारे निर्णय लिन बैठक डाकिएको हो,’ प्रवक्ता ज्वालाले भने।
औपचारिक एजेन्डा महाधिवेशन र संगठनात्मक अभियानमा केन्द्रित भए पनि बैठकमा वरिष्ठ नेता झलनाथ खनालले हालै सुरु गर्नुभएको ‘समाजवादी जागरण अभियान’बारे समेत छलफल हुने बुझिएको छ।
पार्टीका अर्का एक नेताका अनुसार, कारबाहीमा परेका नेताहरूसँग मिलेर खनालले अभियान घोषणा गरेपछि पार्टीभित्र चासो बढेको छ। ‘उहाँले पार्टी छाडेको हल्ला चले पनि आधिकारिक जानकारी दिनुभएको छैन,’ उनले भने, ‘पार्टी अनुशासन र अभियानको औचित्यबारे आगामी बैठकमा खनाल स्वयं उपस्थित भई स्पष्ट पारे राम्रो हुनेछ।’
No ads found for this position



डिसी नेपाल
Facebook Comment