रङहरूको सम्भोग र मौन क्यानभास
शून्यको चिरनिद्राबाट ब्युँझिएको यो मौन क्यानभास
कुनै निर्वस्त्र देहजस्तै निष्कलंक, तटस्थ र मौन छ,
जहाँ अस्तित्वको पहिलो कम्पन जन्माउन
एउटा आदिम तृष्णा सुस्तरी छटपटाइरहेछ।
यो सेतोपन- एउटा दमित अवचेतन हो,
जसले पर्खिरहेछ आफ्नो निष्पट्ट छातीमा
उद्वेलित रङहरूको हिंस्रक र कोमल सम्भोग,
जहाँ सामाजिक मुखुण्डोहरू पग्लिएर
देह र चेतनाको आदिम रूप प्रकट हुन सकोस्।
पहिलो थोपा रातो रङ जब खस्छ त्यहाँ,
त्यो केवल कुनै रङको उपस्थिति रहँदैन,
त्यो त बन्छ स्नायुहरूमा उम्लिएको आदिम ‘इरोस’,
कामुकताको विन्दुबाट फुटेको आलो रगत,
र शरीरको गहिराइमा सल्किरहेको काम-ऊर्जा।
यसले उधिन्छ चेतनाको सिमाना,
र भत्काइदिन्छ नैतिक पर्खालहरूको कृत्रिम सन्तुलन;
यो रातो-
छालाले खोजेको पहिचान हो,
र भोगको उन्मादमा बलेको पहिलो चेतना।
त्यसलगत्तै पोखिन्छ कालो रङ,
अवसादको गर्भबाट निस्किएर फैलन्छ एउटा गहिरो छाया,
जहाँ फ्रायडका अतृप्त प्रेतहरू र थ्यानाटोसको पदचाप सुनिन्छ।
यो कालो- कुनै पापको सामाजिक परिभाषा होइन,
बरु सेतोले आफूभित्र लुकाएको अन्धकारको मौन स्वीकारोक्ति हो;
किनकि प्रकाशको भ्रम मेट्न
अन्धाकारको मांसल स्पर्श अनिवार्य भइदिन्छ।
बिस्तारै फैलिन्छ त्यहाँ नीलो तरङ्ग,
जस्तै सम्भोगपछिको चिसो, स्निग्ध मौनता,
वा तृप्तिको चरम विन्दुमा आइपुग्ने रहस्यमय रिक्तता।
यो नीलो- विवेक र उन्मादबीचको बौद्धिक द्वन्द्व हो,
जहाँ कामुकता केवल मांसल स्पर्शबाट उम्किएर
एक्लोपनको दार्शनिक गहिराइमा रूपान्तरित हुन्छ,
शरीरको सीमा पार गरेपछि भेटिने
एउटा अतल शून्यताको उदात्त रङ।
फेरि कतै छचल्किन्छ पहेंलो र बैजनी आभा,
भय, संकोच र तीव्र आकर्षणको अनौठो सङ्गम बनेर।
यो त्यो मनोविज्ञान हो,
जहाँ इच्छा लजाउँछ र लजाएरै अझ उत्तेजित बन्छ;
यो मांसपेशीहरूको सूक्ष्म कम्पन हो,
जहाँ आत्मसमर्पण र विद्रोह एकैसाथ सास फेर्छन्।
क्यानभास अब केवल निष्क्रिय धरातल रहेन,
यो त बनिगयो मन, देह र अस्तित्वको युद्धभूमि।
रङहरू रगडिन्छन् एकअर्कामा,
तरल रङहरूले खोतल्छन् एकअर्काको अस्तित्व,
र जन्मिन्छ एउटा अव्यक्त, जटिल विम्ब—
जहाँ न कुनै रङ पूर्णतः शुद्ध छ,
न कुनै रङ पूर्णतः कलुषित।
सेतोपनको यो निर्मम छातीमा
जब रङहरूको सम्भोग समाप्त हुन्छ,
क्यानभास निथ्रुक्क भिज्छ आफ्नो नयाँ यथार्थसँग।
त्यो अब निर्दोष रहेन, तर त्यो अब जीवित छ;
किनकि सृष्टि-
सधैँ रङहरूको यस्तै उत्तेजक, विद्रोही र दार्शनिक घर्षणबाट मात्र सम्भव हुन्छ।
No ads found for this position




Facebook Comment