लघुकथा : संवाद

भूमिका गैरे तिमिल्सिना
२४ असोज २०८३ ७:१७
4
Shares

“कुन जातको बिरुवा हो ?”

कोही के त कोही के आपसमा बोल्दै थिए। जङ्गलका अनेक बिरुवाहरू नियाल्दै गर्दा रुख, बिरुवा र पालुवा छोएको प्रष्ट देखिन्थ्यो। औषधिजन्य बिरुवा खोज्दै गर्दा त्यतिकैमा एकजनाले औँल्याउँदै सोधे, “यो के काम लाग्छ? यसका फाइदाहरू के-के छन्?”

चारैतिर हरियाली र शान्त वातावरण थियो। चराचुरुङ्गीको चिरबिर आवाजले वातावरण मनमोहक बनाएको थियो। प्रकृतिको त्यो मधुर सङ्गीतको त झन् कुरै नगरौँ!

जैविक विविधताले भरिएको परिदृश्य नियाल्दा लाग्थ्यो- सदा प्रकृतिकै समीपमा बसिरहूँ। प्रकृतिको आफ्नै मौलिकता थियो र उत्तिकै सरलता पनि। जंगलका भिरपाखामा आफैँ उम्रिएका अनेकन फलफूलका बोटहरू थिए- ऐँसेलु, काफल, चुत्रो, लप्सी, वनआँप, खल्लुक, भ्याकुर, जामुन, कुसुम आदि। तिनको स्वाद र सुगन्धले मानिसहरूलाई आफूतिर आकर्षित गरिरहेको थियो।

दृश्य अलौकिक थियो; मानिस र प्रकृतिबिच भावनात्मक सम्बन्ध जोडिएको थियो। उनीहरू आफ्ना आवश्यकता पूरा गर्न जङ्गलमा विहार गर्दै प्रकृतिको आनन्द लिइरहेका थिए। त्यसैबिच एकजनाले भने, “कुफतको औषधि लानु छ, कहाँ पाइन्छ होला? चिराइतो, बोझो, गुर्जो र तितेपाती?” ऊ चारैतिर आँखा दौडाउँदै थियो।

प्रकृतिको शान्त स्वर सुनियो, “देखेनौ, त्यहीँ त छ तिमीलाई चाहिने सबै! पहिचान गर अनि लिएर जाऊ।” प्रकृति शब्दहीन थिइन्, तर मानव मनसँग गहिरो संवाद गरिरहेकी थिइन्। बोलीको भाषा थिएन, तर अनुभूतिको बेग्लै तरङ्ग थियो।

मानिसहरू आफ्ना आवश्यकता पूरा गर्न प्रकृतितिर फर्कन्छन्- हावा, पानी, इन्धन, औषधि लगायतका चिजहरू, जुन सित्तैमा पाइन्छन्। प्रकृतिले कुनै शुल्क लिँदिनन्; उनले त केवल दिन मात्र जानेकी छन्, जसरी एक आमाले आफ्ना सन्तानलाई वात्सल्य दिन्छिन्।

खोज्ने क्रममा फेरि अर्काले भने, “मान्छे जब बिरामी पर्छ नि, बल्ल अक्सिजनको महत्त्व बुझ्छ- जुन प्रकृतिले नि:शुल्क दिएकी छिन्। स्वस्थ हुञ्जेल कसैले वास्ता गर्दैनन्, तर अभावमा बल्ल यसको सार्थकता बुझ्छन्।” उसले उपयोगिता बताउँदै मूल्य सम्झियो।

नबोलेरै पनि प्रकृतिले महसुस गरिरहेकी थिइन्, हृदयले बुझिरहेकी थिइन्। मौनतामै उत्तर फर्काउँदै हावा, पात र खोलाले एकैसाथ सुसेलेर रहस्यमय ध्वनि निकाले, “मलाई जितेर होइन, मसित मिलेर बाँच्न सिक। मैले दिने तिमीहरूलाई नै हो, खोइ मेरो अस्तित्व स्वीकार्न सकेको?”

यसरी प्रकृतिले मानव संवेदनासँग निरन्तर संवाद गरिरहिन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *