नयाँ नेतृत्व चयनका लागि यसरी हुँदैछ कांग्रेसको निर्वाचन (तस्बिर)

डिसी नेपाल
२२ असोज २०८३ ११:०३

काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि आज मतदान हुँदैछ। वर्षा र प्राविधिक कारण देखाउँदै पूर्वनिर्धारित समय तालिका संशोधन गरी दिउँसो १ बजेदेखि मात्रै मतदान प्रक्रिया सुरु गरिने भएको छ।

यसअघि बिहान ७ बजेदेखि नै मतदान सुरु गर्ने कार्यतालिका रहे तापनि मौसममा आएको खराबी र तयारीका कारण समय सार्नुपरेको केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले जानकारी दिएका छन्।

महाधिवेशनमा सहभागी देशभरका कुल ७ हजार २५५ जना प्रतिनिधिहरूले नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आफ्नो मताधिकार प्रयोग गर्नेछन्। सभापति, पदाधिकारी तथा विभिन्न कोटाका केन्द्रीय सदस्य पदका उम्मेदवारहरूको अन्तिम नामावली निर्वाचन समितिले बुधबार साँझ नै सार्वजनिक गरिसकेको छ।

निर्वाचनको समग्र व्यवस्थापन र मर्यादाबारे छलफल गर्न निर्वाचन समितिले बिहान ११:३० बजे राष्ट्रिय सभा गृहस्थित निर्वाचन कार्यालयमा सभापति, उपसभापति र महामन्त्री पदका सबै उम्मेदवारहरूलाई बैठकमा बोलाएको छ।

प्रदेश र समूह अनुसारका मतदान केन्द्रहरू

मतदान प्रक्रियालाई व्यवस्थित बनाउन निर्वाचन समितिले प्रतिनिधिको प्रदेश तथा प्रतिनिधित्वका आधारमा छुट्टाछुट्टै स्थानमा मतदान केन्द्रको प्रबन्ध मिलाएको छ।

  • राष्ट्रिय सभा गृह (मतदान केन्द्र ‘क’): बागमती प्रदेशका प्रतिनिधिहरूका लागि।

  • खुलामञ्च (मतदान केन्द्र ‘ख’): कोशी प्रदेश तथा तराई–मधेस समूहका प्रतिनिधिहरूका लागि।

  • हिमाल हल: गण्डकी प्रदेशका प्रतिनिधिहरूका लागि।

  • तराई–मधेस हल: मधेस प्रदेशका प्रतिनिधिहरूका लागि।

  • पहाड हल: लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशका साथै नेपाली जनसम्पर्क समिति र भ्रातृ संस्थातर्फका प्रतिनिधिहरूका लागि।

निर्वाचन समितिले मतदान सुरु हुनुअघि नै लाइनमा नबस्न प्रतिनिधिहरूलाई आग्रह गरेको छ। मतदानस्थलमा प्रवेश गरेपछि प्रतिनिधिको परिचयपत्र र मतदाता नामावली रुजु गरेर मात्रै प्रवेश दिइनेछ। साथै, आचारसंहिता अनुसार मोबाइल फोन लगायतका निषेधित सामग्री लिएर मतदानस्थलमा प्रवेश गर्न पाइने छैन।

उम्मेदवारी दर्ता, दाबी-विरोध र नामावली फिर्ताको प्रक्रिया सकिएसँगै अब मतदानबाट सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री र विभिन्न क्षेत्रका केन्द्रीय सदस्यहरू निर्वाचित हुनेछन्।

मतदान सम्पन्न हुनासाथ मतगणना सुरु गरिने र लगत्तै अन्तिम परिणाम सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ। १५औँ महाधिवेशनले संशोधित विधान मार्फत कांग्रेसको केन्द्रीय कार्यसमितिलाई २९७ सदस्यीय बनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *