नेपाली कांग्रेसको १५औं महाधिवेशन: आज नयाँ नेतृत्वका लागि मतदान
काठमाडौं। नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज (शुक्रबार) बिहान ७ बजेदेखि मतदान प्रक्रिया सुरु हुँदैछ।
बिहीबार बिहान ७ बजेका लागि तय गरिएको मतदान उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशनमा भएको ढिलाइ, मतपत्र छपाइ कार्य तथा अन्य व्यवस्थापकीय तयारी पूरा हुन नसक्दा सारिएको थियो। निर्वाचन समितिले पटक-पटक समय तालिका संशोधन गर्दै अन्ततः शुक्रबार बिहानका लागि नयाँ समय तोकेको हो।
केन्द्रीय निर्वाचन समितिका अनुसार देशभरबाट आएका ७ हजार २५५ जना महाधिवेशन प्रतिनिधिहरूले मतदान प्रक्रियामा भाग लिँदैछन्। मतदान कार्यलाई व्यवस्थित र सहज बनाउनका लागि काठमाडौंका तीन फरक स्थानमा मतदान केन्द्र निर्धारण गरिएको छ।
जसमा बागमती प्रदेशका प्रतिनिधिहरूका लागि राष्ट्रिय सभागृह (प्रदर्शनी मार्ग), गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिहरूका लागि प्रज्ञा प्रतिष्ठान भवन (कमलादी) तथा बाँकी प्रदेशका प्रतिनिधिहरूका लागि खुला मञ्चमा मतदानको व्यवस्था मिलाइएको छ।
यस महाधिवेशनले विधान संशोधन गर्दै नयाँ केन्द्रीय कार्यसमितिलाई २९७ सदस्यीय बनाएको छ। आज हुने मतदानबाट सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्रीसहितका पदाधिकारी तथा केन्द्रीय सदस्यहरू निर्वाचित हुनेछन्।
निर्वाचन समितिले मतदान कार्य सम्पन्न हुनासाथ मतपेटिका सुरक्षित रूपमा संकलन गरी आजैबाट मतगणना सुरु गर्ने तयारी गरेको छ। महाधिवेशन एक दिन लम्बिएकाले प्रतिनिधिहरूको आवास र भोजनको व्यवस्था पार्टीको आर्थिक व्यवस्थापन समितिले नै बेहोर्ने जनाएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment