लघुकथा: गुरुपूर्णिमा

प्रकाशचन्द्र खतिवडा
२४ असोज २०८३ ७:१६
16
Shares

“ए सुन्नुहोस् त, तपाईं वीरेन राजवंशी सर हो? तपाईं अन्नपूर्णको शिक्षक हुनुहुन्थ्यो नि, होइन?” सभ्यताले जिज्ञासा राखी।

“हो, म वीरेन राजवंशी नै हुँ। तर म शिक्षण पेसाबाट निवृत्त भइसकेँ। तपाईं को हुनुहुन्छ नि?” वीरेनले प्रतिप्रश्न गरे।

“म तपाईंको विद्यार्थी सभ्यता खवास। सम्झिनुहोस् त सर, अन्नपूर्ण माविमा पढेका ती दिनहरू!” सभ्यताले आफ्नो परिचय दिई।

“ओह माइ गड! तिमी सभ्यता? भेटेर असाध्यै खुसी लाग्यो। तिमी अहिले कहाँ, के गर्दै छौ?” वीरेनले खुसी व्यक्त गरे।

३५ वर्षपछि वीरेन र सभ्यताको काँकडभिट्टामा आकस्मिक रूपमा भेट भएको थियो। वीरेन उपचारका लागि सिलगुढी आवतजावत गरिरहन्थे। उनी उच्च रक्तचाप र मधुमेह (सुगर) का बिरामी हुन्। सभ्यता भने काँकडभिट्टा भन्सारकी नायब सुब्बा हुन्। खरिदारबाट निजामती सेवामा प्रवेश गरेकी सभ्यता पदोन्नति (बढुवा) भएर नायब सुब्बा भएकी हुन्।

सभ्यता पढाइमा ज्यादै तिखो र प्रतिभावान् विद्यार्थी थिइन्। तर घरायसी आर्थिक अवस्था कमजोर भएका कारण उनी कोचिङ वा अतिरिक्त कक्षामा सहभागी हुन सकेकी थिइनन्।

वीरेन सरले नै शुल्क मिनाहा गराएर सभ्यतालाई अतिरिक्त कक्षामा अध्ययन गर्ने उचित वातावरण मिलाइदिएका थिए। एसएलसी  परीक्षा प्रथम श्रेणीमा उत्तीर्ण गरेकी सभ्यताले आर्थिक कठिनाइकै कारण उच्च शिक्षा हासिल गर्न भने सकिनन्।

एसएलसी सकिएलगत्तै सभ्यताको विवाह भयो भने वीरेन सरको पनि जरायोटार सरुवा भयो। त्यसपछि यी दुईबिचको सम्पर्क टुटेर एकापसमा अपरिचितजस्तै बनेका थिए।

वर्षौंपछि आफ्ना आदरणीय वीरेन सरलाई भेट्न पाउँदा सभ्यता असाध्यै पुलकित बनी। उनले सरलाई चिनीरहित (सुगर फ्रि) चिया र नास्ता गराई। “सरले मलाई लगाउनुभएको गुन मैले कहिल्यै बिर्सन सकेकी छैन। सरको यो ऋण म कसरी तिर्न सकूँला र?” उनले भावुक हुँदै भनिन्।

त्यसपछि उनले वीरेन सरलाई नजिकैको कपडा पसलमा लगेर सफारी सुटको कपडा किनेर उपहार दिइन्। आफ्नी एउटी चेलीले आफूप्रति दर्शाएको यस्तो अगाध श्रद्धा र सद्भावलाई सहर्ष ग्रहण गर्दै वीरेन सरले सभ्यतालाई हृदयदेखि नै आशीर्वाद दिए। सभ्यता पनि आफ्ना गुरुप्रति पुनः कृतज्ञ भई।

संयोगवश, आज गुरुपूर्णिमाकै पवित्र दिन थियो।

सुन्दरहरैंचा-६, दुलारी, मोरङ

इमेल: [email protected]


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *