बूढीगण्डकी तटीय क्षेत्र खाली गर्न गृहमन्त्रीको अपिल, उद्धारमा हेलिकप्टर परिचालन
काठमाडौं। गोरखाको चुमनुब्रीस्थित बूढीगण्डकी नदीमा आएको आकस्मिक र भीषण बाढीका कारण तटीय क्षेत्रमा जोखिम बढेपछि गृहमन्त्री सुधन गुरुङले सो क्षेत्रका बासिन्दाहरूलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण हुन र उच्च सतर्कता अपनाउन सार्वजनिक अपिल गरेका छन्।
सामाजिक सञ्जालमार्फत गृहमन्त्री गुरुङले आफ्नै गृहजिल्ला तथा निर्वाचन क्षेत्र (गोरखा-१) मा परेको प्राकृतिक विपत्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सिर्दिबास, जगत, सल्लेरी, खोलबेसी, माछाखोला, सोती, आर्खेत र आरुघाट क्षेत्रका बासिन्दालाई ढिलाइ नगरी सुरक्षित ठाउँतर्फ जान आग्रह गरेका हुन्।
न्याक्चेत-फिलिम पुल बग्यो, घट्टेखोलामा लेदोसहितको बाढी
आइतबार बिहान करिब ४:३० बजे चुमनुब्री गाउँपालिका-३ स्थित फिलिममा पहिरोले थुनिएको बूढीगण्डकी नदी फुटेपछि तटीय क्षेत्रमा लेदो र गेग्रानसहितको भीषण बाढी पसेको छ। बाढीका कारण चुमनुब्री-३ को न्याक्चेत र फिलिम बजार जोड्ने पुल बगेको छ भने घट्टेखोला क्षेत्रका केही घरहरूमा लेदोसहितको पानी पसेर क्षति पुर्याएको छ। नदीको बहाव अझै निरन्तर बढिरहेको छ।
यसअघि उङगिलुङ खोलामा आएको बाढीले धार्चे र चुमनुब्री जोड्ने पर्यटकीय माछीखोला पुलका साथै आरुघाटको सोती र मान्बु जोड्ने पुलसमेत बगाइसकेको छ। बाढीमा परी ४ वटा गोठ, १५ वटा याक-नाक बग्नुका साथै गोठ हेर्न बसेका ४ जना स्थानीय सम्पर्कविहीन भएका छन्।
सेना, प्रहरी र हेलिकप्टरमार्फत उद्धार जारी
घटनालगत्तै गृह मन्त्रालयको समन्वयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली उद्धार तथा राहतका लागि खटिएका छन्। काठमाडौंबाट सेनाको ‘कम्पोजिट क्विक रेस्पोन्स टिम’ हेलिकप्टरमार्फत घटनास्थलमा परिचालन भइसकेको छ।
सेनाको टोलीले बाढी र पहिरोको उच्च जोखिममा परेको जगत् गाउँबाट ६ जना स्थानीयको उद्धार गरिसकेको छ भने प्रभावित क्षेत्रमा अवलोकन (रेकी) र माइकिङ गरी सतर्कता अपनाउन अनुरोध गरिरहेको छ।
गृहमन्त्री गुरुङले प्रभावित क्षेत्रका नागरिकहरूलाई धैर्य र सुरक्षित रहन आग्रह गर्दै कुनै पनि आपत्कालीन सहायता वा सूचनाका लागि गृह मन्त्रालयको खोज तथा उद्धार नियन्त्रण कक्षमा सम्पर्क गर्न अपिल गरेका छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment