यस वर्षको ‘मीना दिदी पुरस्कार’ रसुवाकी शिक्षिका अनुजा अधिकारी आचार्यलाई

डिसी नेपाल
२६ असोज २०८३ १२:२१
8
Shares

काठमाडौं। यस वर्षको ५१ हजार रुपैयाँ राशिको ‘मीना दिदी पुरस्कार-२०८३’ रसुवाकी शिक्षिका अनुजा अधिकारी आचार्यलाई प्रदान गरिने भएको छ। भोटेकोशी बाढीका बेला आपत्कालीन अवस्थामा विद्यार्थीहरूको जीवनरक्षाका लागि एक शिक्षकका रूपमा खेलेको महत्त्वपूर्ण भूमिकाको सम्मान गर्दै उनलाई यस वर्षको पुरस्कारका लागि छनोट गरिएको पुरस्कार समितिका सदस्यसचिव उमानाथ पोखरेलले जानकारी दिए।

समाजसेवी तथा प्राध्यापक आरती कार्की र मदन पुरस्कार विजेता साहित्यकार डा. नीलम कार्की निहारिकाले आफ्नी आमा स्वर्गीय मीनाकुमारी कार्कीको स्मृतिमा यो पुरस्कार स्थापना गरेका हुन्। शिक्षा क्षेत्रमा पुर्‍याएको योगदानका लागि प्रत्येक वर्ष एक जना महिला शिक्षकलाई पुरस्कार प्रदान गर्ने व्यवस्था छ।

महिलाहरूलाई औपचारिक शिक्षा प्राप्त गर्ने अवसर अत्यन्त सीमित रहेको समयमा मीनाकुमारी कार्कीले ग्रामीण क्षेत्रमा शिक्षाको विकास र विस्तारका लागि महत्त्वपूर्ण योगदान पुर्‍याएकी थिइन्। विसं २०२३ सालदेखि शिक्षण पेसा सुरु गरेकी उनले अर्घाखाँची र पाल्पाको झडेवास्थित किसान माध्यमिक विद्यालयमा गरी निरन्तर २७ वर्ष अध्यापन गरेकी थिइन्।

उनको योगदान विद्यालयको कक्षाकोठामा मात्र सीमित थिएन। छोरीहरूलाई विद्यालय पठाउन हिचकिचाउने तत्कालीन समाजमा उनी घरघरमा पुगेर अभिभावकहरूलाई छोरीहरू पनि पढ्नुपर्छ भन्दै सम्झाउने र उत्प्रेरित गर्ने गर्थिन्। ग्रामीण क्षेत्रमा महिला शिक्षाप्रति चेतना जगाउन तथा बालिकाहरूलाई विद्यालयसम्म पुर्‍याउन उनले गरेको संघर्ष र योगदानको सम्मान गर्दै उनकै नाममा यो पुरस्कार स्थापना गरिएको हो।

गत वर्ष पहिलोपटक प्रदान गरिएको ‘मीना दिदी पुरस्कार–२०८२’ बैतडीकी पहिलो महिला शिक्षिका कृष्णा विष्टलाई प्रदान गरिएको थियो। विष्टले लामो समय ग्रामीण क्षेत्रमा शिक्षण गर्दै बालिका शिक्षा, महिला सशक्तीकरण, छाउपडी प्रथा न्यूनीकरण तथा सामाजिक रूपान्तरणमा महत्त्वपूर्ण योगदान पुर्‍याएकी थिइन्। उनले विपन्न तथा पिछडिएका समुदायका बालिकाहरूलाई शिक्षामा पहुँच पुर्‍याउनसमेत काम गरेकी थिइन्।

यस वर्ष पुरस्कारका लागि छनोट भएकी अनुजा अधिकारी आचार्य रसुवाको उत्तरगया गाउँपालिका–५ निवासी हुन्। विसं २०८३ भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीका क्रममा विधार्थीको ज्यान जोगाउन आचार्यले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उनको योगदान विवरणमा उल्लेख छ।

विपद्को समयमा एक शिक्षकका रूपमा विद्यार्थीहरूको जीवनरक्षाका लागि एक शिक्षकले खेलेको साहसपूर्ण तथा मानवीय भूमिकालाई यस वर्षको पुरस्कार छनोटको प्रमुख आधार बनाइएको छ।

स्वर्गीय मीनाकुमारी कार्की पाल्पाको झडेवास्थित किसान माध्यमिक विद्यालयमा ‘मीना दिदी’का नामले परिचित थिइन्। शिक्षण पेसाप्रतिको उनको निष्ठा र योगदानको सम्मान गर्दै किसान माध्यमिक विद्यालयका भूतपूर्व विद्यार्थीहरूले उनी जीवित छँदै ‘मिना दिदी’ नामक पुस्तकसमेत प्रकाशन गरेका थिए। उनको निधन २०७८ साल माघ २१ गते भएको थियो।

ग्रामीण क्षेत्रमा महिला शिक्षाको विस्तारका लागि जीवन समर्पित गरेकी मीनाकुमारी कार्कीको स्मृतिमा स्थापित ५१ हजार रुपैयाँ राशिको ‘मीना दिदी पुरस्कार’ पहिलो वर्ष बैतडीकी शिक्षिका कृष्णा विष्टलाई प्रदान गरिएको थियो भने दोस्रो वर्ष भोटेकोशी बाढीका बेला आपत्कालीन अवस्थामा विद्यार्थीहरूको जीवनरक्षाका लागि एक शिक्षकका रूपमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी रसुवाकी शिक्षिका अनुजा अधिकारी आचार्यलाई प्रदान गरिने भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *