साउदीमा रियादपछि दम्मामस्थित किङ फहद अन्तर्राष्ट्रिय विमानस्थलमा पनि आक्रमण

डिसी नेपाल
२६ असोज २०८३ १२:५३
140
Shares

काठमाडौं । साउदी अरेबियाका विमानस्थलहरूलाई लक्षित गरी आक्रमण गर्ने क्रम थप बढेको छ। राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भीषण आक्रमण भएको केही समय नबित्दै, आइतबार साँझ साउदी अरेबियाको पूर्वी प्रान्तमा अवस्थित किङ फहद अन्तर्राष्ट्रिय विमानस्थल (दम्माम) माथि पनि आक्रमण भएको छ।

यमनका इरान समर्थित हुथी विद्रोहीहरू ले यस आक्रमणको जिम्मेवारी लिएका छन्। साउदी अरेबियाको नागरिक उड्डयन प्राधिकरणले विमानस्थललाई लक्षित गरिएको पुष्टि गरे पनि हालसम्म कुनै मानवीय क्षति वा विस्तृत विवरण सार्वजनिक गरिएको छैन।

यसअघि शनिबार रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको घातक आक्रमणमा ठुलो मानवीय क्षति भएको थियो । साउदी अधिकारीहरूका अनुसार प्रारम्भिक चरणमा १ अमेरिकी नागरिकसहित १२ जनाको मृत्यु भएको र ३०० भन्दा बढी घाइते भएका थिए। पछि भारतीय दूतावासले यस आक्रमणमा परि एक भारतीय नागरिकको पनि ज्यान गएको पुष्टि गरेसँगै कुल मृतकको सङ्ख्या १३ पुगेको छ।

आइतबार पनि रियाद विमानस्थलको टर्मिनल-४ लाई लक्षित गरी अज्ञात क्षेप्यास्त्र प्रहार हुँदा आगलागी भएको थियो। साउदी नेतृत्वको गठबन्धन सेनाले विमानस्थलको वरिपरि एउटा क्रुज मिसाइललाई निष्क्रिय पारिएको दाबी गरेको छ।

हुथी सैन्य प्रवक्ता याहिया सारेले एक टेलिभिजन सम्बोधनमार्फत रियाद आक्रमणको जिम्मा लिँदै साउदी अरेबियाले यमनमाथि आफ्नो ‘आक्रमण’ बन्द नगरेसम्म थप भयानक परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन्।

समाचार संस्था अनादोलु का अनुसार, हुथी पक्षले दम्माम र रियाद विमानस्थलका साथै साउदी अरेबियाका प्रमुख ऊर्जा तथा तेल संरचनाहरूमा समेत आक्रमण गरिएको दाबी गरेको छ। यद्यपि, यी दाबीहरूकोस्वतन्त्र पुष्टि भने हुन बाँकी छ।

साउदी अरेबियाको पूर्वी प्रान्तमा पर्ने दम्माम सहर तेल तथा प्राकृतिक ग्यास उद्योगका लागि देशकै अति महत्त्वपूर्ण क्षेत्र मानिन्छ। यस क्षेत्रमा रहेको किङ फहद अन्तर्राष्ट्रिय विमानस्थल प्रमुख हवाई सम्पर्क केन्द्र हो। रियादपछि दम्माम विमानस्थलमा पनि आक्रमण भएपछि साउदी अरेबियाको नागरिक उड्डयन तथा हवाई सुरक्षामाथि गम्भीर चुनौती थपिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *