‘सुदूर कर्णाली सिङ्गिङ एण्ड डान्सिङ स्टार २०२६’ को उपाधि राजेन्द्र दयाल र हानिश मौनीलाई

डिसी नेपाल
२८ असोज २०८३ १३:१८

धनगढी। सनिश्चर म्युजिक कम्पनी प्रालिको आयोजनामा धनगढीस्थित होटल पौवामा सम्पन्न ‘सुदूर कर्णाली सिङ्गिङ एण्ड डान्सिङ स्टार २०२६’ को गायनतर्फ राजेन्द्र दयाल र नृत्यतर्फ हानिश मौनी विजेता बनेका छन्। भव्य रूपमा आयोजित प्रतियोगिताको ग्राण्ड फिनालेमा विभिन्न चरण पार गर्दै आएका प्रतियोगीहरूले आफ्नो उत्कृष्ट प्रतिभा प्रस्तुत गरेका थिए।

प्रतियोगिताको गायनतर्फ धर्मराज तिमिल्सिना प्रथम, महेश्वर थापा मगर द्वितीय, सुन्दरनाथ योगी तृतीय र धर्मेन्द्र धामी चौथो रनरअप घोषित भएका छन्। त्यيसैगरी, नृत्यतर्फ सिर्जना बीके प्रथम, उमेश परियार द्वितीय, रेस्मी ठगुन्ना तृतीय र सपना चुडारा चौथो रनरअप बनेका छन्।

प्रतियोगिताको निर्णायक मण्डलमा ग्राण्ड जज जेम्स जोशीसहित भवानी रेग्मी, नरेन्द्रराज रेग्मी र शमिर परियार रहेका थिए। अनिता धामीले सञ्चालन गरेको यस कार्यक्रममा सहनिर्माता प्रमिला सिलवालको पनि उपस्थिति रहेको थियो भने कार्यक्रमको व्यवस्थापन तथा आयोजनाको नेतृत्व निर्देशक सुदीप जोशीले गरेका थिए।

आयोजकका अनुसार प्रतियोगिताको नतिजा सार्वजनिक भोट र निर्णायकहरूको मतका आधारमा निर्धारण गरिएको थियो। यसका लागि अन्तर्राष्ट्रिय भोट, इसेवा भोटिङ र भोटिङ पासको व्यवस्था गरिएको थियो। प्रत्येक निर्णायकलाई ५०० मताधिकार प्रदान गरिएको थियो भने अन्य माध्यमबाट असीमित मत दिन सकिने व्यवस्था मिलाइएको थियो।

प्रतियोगिताका विजेताहरूले दुई लाख रुपैयाँ नगद, चार लाख रुपैयाँबराबरको अडियो तथा म्युजिक भिडियो निर्माणको अवसर र अन्तर्राष्ट्रिय भ्रमणको पुरस्कार प्राप्त गर्नेछन्।

त्यसैगरी, प्रथम रनरअपले ७० हजार रुपैयाँ नगद र तीन लाख रुपैयाँबराबरको अवसर, द्वितीय रनरअपले ३० हजार रुपैयाँ नगद र दुई लाख रुपैयाँबराबरको अवसर, तृतीय रनरअपले १३ हजार रुपैयाँ नगद र एक लाख रुपैयाँबराबरको अवसर तथा चौथो रनरअपले पाँच हजार रुपैयाँ नगद र ५० हजार रुपैयाँबराबरको अडियो तथा म्युजिक भिडियो निर्माणको अवसर प्राप्त गर्नेछन्।

अमेरिकास्थित केटीज स्मोकहाउसले मुख्य सहयोगीका रूपमा साथ दिएको यस कार्यक्रममा इसेवा भोटिङ पार्टनर, खबर एण्ड लाइभ मिडिया पार्टनर, भायानेट इन्टरनेट पार्टनर, डीजे अशोक साउण्ड सिस्टम पार्टनर, कालभैरव ज्वेलर्स सपोर्टिङ पार्टनर, एष्ट्रा कन्सल्टिङ ग्रुप शिक्षा पार्टनर र होटल रिस्ता होटल पार्टनरका रूपमा जोडिएका थिए भने होटल पौवा भेन्यु पार्टनर रहेको थियो।

आयोजक सनिश्चर म्युजिक कम्पनी प्रालिले यस प्रतियोगिताले सुदूरपश्चिम र कर्णाली क्षेत्रका प्रतिभाहरूलाई आफ्नो कला प्रस्तुत गर्ने, क्षमता विकास गर्ने तथा सांगीतिक र नृत्य क्षेत्रमा पहिचान स्थापित गर्ने ठूलो अवसर प्रदान गरेको बताएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *