भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरपरिवारलाई ४५ हजारका दरले राहत वितरण

डिसी नेपाल
२८ असोज २०८३ १९:४१
16
Shares

काठमाडौं। भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ घरपरिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद राहत वितरण गरेको छ।

विश्व खाद्य कार्यक्रमले उपलब्ध गराएको सहयोग स्थानीय तहसँगको समन्वयमा एकद्वार प्रणालीमार्फत वितरण गरिएको हो। रसुवाका पाँच, नुवाकोटका चार र धादिङका दुई गरी ११ स्थानीय तहका प्रभावित परिवारले राहत पाएका छन्।

तथ्याङ्क प्रमाणीकरण हुन बाँकी करिब १ हजार ४०० घरपरिवारलाई पनि तीन दिनभित्र राहत वितरण गरिसक्ने सरकारको तयारी छ।

गत असोज २३ गते बसेको केन्द्रसहित तीनवटै जिल्लाका मनसुन प्रतिकार्य कमान्ड पोस्टको संयुक्त बैठकले प्रभावित घरपरिवारको पहिचान, प्रमाणीकरण र शीघ्र पुनर्लाभलाई व्यवस्थित गर्ने निर्णय गरेको थियो।

रेडक्रससहित अन्य विकास साझेदारले पनि नगद सहयोग गर्न चाहेकाले दोहोरो सहायता नपर्ने र कुनै पनि प्रभावित परिवार नछुट्ने गरी राहत वितरण गर्न सरकारले स्थानीय तह तथा सम्बन्धित निकायलाई निर्देशन दिएको छ।

यसैबीच, बाढी प्रभावितको दीर्घकालीन पुनर्स्थापना र व्यवस्थापनका लागि पनि काम तीव्र पारिएको सरकारले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *