साउदी अरबद्वारा श्रीलङ्काली नागरिकलाई सुनाइएको मृत्युदण्ड रद्द

डिसी नेपाल
२९ असोज २०८३ ११:३०
12
Shares

काठमाडौं । साउदी अरबको सर्वोच्च अदालतले सामाजिक सञ्जाल फेसबुकमा गरिएको एक टिप्पणीलाई लिएर श्रीलङ्काका वैदेशिक रोजगार श्रमिक अनोजन सिवारासालाई सुनाइएको मृत्युदण्डको सजाय रद्द गरिदिएको छ। श्रीलङ्काका उपविदेशमन्त्री अरुण हेमचन्द्रले यस निर्णयको आधिकारिक पुष्टि गरेका हुन्।

२७ वर्षीय अनोजन सिवारासालाई गत सेप्टेम्बर महिनामा साउदीको एक पुनरावेदन अदालतले इस्लाम धर्म र प्यागम्बर मोहम्मदका विरुद्ध आपत्तिजनक टिप्पणी गरेको दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको थियो।

सिवारासामाथि तमिल भाषामा प्यागम्बर मोहम्मदबारे आपत्तिजनक टिप्पणी पोस्ट गरेको आरोप थियो। यद्यपि उनले पछि सो टिप्पणी हटाएर माफी माग्दै भिडियो समेत जारी गरेका थिए, तर टिप्पणीको स्क्रिनसट रोजगारदाता र साउदी अधिकारीहरूसम्म पुगेपछि गत जुलाई महिनामा उनलाई साउदी प्रहरीले गिरफ्तार गरेको थियो।

साउदी अदालतले मृत्युदण्डको सजाय सुनाएपछि श्रीलङ्कामा तीव्र चिन्ता र बहस सिर्जना भएको थियो। त्यसपछि श्रीलङ्का सरकारले साउदी अधिकारीहरूसँग उच्चस्तरीय कूटनीतिक पहलकदमी तथा कानुनी लडाइँ सुरु गरेको थियो।

बुधवार साउदी अरबको सर्वोच्च अदालतले उक्त मृत्युदण्डको सजाय खारेज गरिदिएको हो। उपविदेशमन्त्री अरुण हेमचन्द्रले सामाजिक सञ्जाल फेसबुकमार्फत यसको जानकारी दिँदै दुवै देशका कूटनीतिक अधिकारीहरू, अधिवक्ताहरू तथा मद्दत गर्ने सम्पूर्ण टोलीलाई धन्यवाद ज्ञापन गरेका छन्।

साउदी सर्वोच्च अदालतको यस निर्णयले साउदीमा कार्यरत लाखौँ प्रवासी श्रमिकहरू र श्रीलङ्कामा रहेका सिवारासाको परिवारलाई ठुलो राहत दिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *