कविता : असमावेशी संविधान

प्रकाशचन्द्र खतिवडा
१ कार्तिक २०८३ ७:५६
16
Shares

म अछूत हुँ-

नचलाऊ मेरो पानी,

नहेर मेरो अनुहार,

तिम्रो साइत बिग्रन्छ!

भन, तिमी छुत हौ कि क्षुद्र?

तिम्रो अहङ्कारले मानवता रोइरहेछ।

म जोतिरहेछु तिम्रो हलो,

गुमाइरहेछु आफ्नै खुसी,

तिमी पिइरहेछौ मेरो पसिना।

तिमी आभास गर या नगर,

तिम्रो सङ्कीर्णता मेरो चिहान बनेर रुन्छ।

मैले खाएकै थिएँ तिम्रो जुठोपुरो,

भेटैपिच्छे ‘जदौ हजुर’ भनेकै थिएँ।

तर तिमीले कहिल्यै ‘तथास्तु’ भन्न सकेनौ,

तिम्रो निर्दयता देखेर म अवाक् बनेको छु।

मेरो श्रम चलायौ,

सिप चलायौ,

तर कहिल्यै चलाएनौ पानी!

तिम्रो नुनको ढाकर बोकेर

बेहिसाब हरेक हिउँदमा

अक्कर उक्लिएकै थिएँ।

तिमी मञ्चबाट चर्को भाषण गर्थ्यौ-

“दलित आन्दोलन हाम्रै आन्दोलन हो,

मानिस छुत-अछूत हुँदैन, म मान्दिनँ!”

अनि ओर्लिएपछि फेरि छुवाछूत गर्थ्यौ।

मलाई सत्ताको भर्‍याङ बनाएर

तिमी कुर्सीमा विराजमान भयौ।

मेरो नाममा आएको अनुदान

कागज मिलाएर तिमी नै पचायौ,

अनि नक्कली प्रतिवेदन पेस गर्दै

युएनओलाई पनि छक्याइरह्यौ।

कागजमा मात्र सीमित रहे दलित मुक्तिका कुरा,

आज पनि धारामा,

मन्दिरमा,

र पाठशालामा

प्रवेश निषेधको धम्की खेपिरहेछु।

अब त अति भयो!

अझै कति निहुरिने म?

उम्लिरहेछ मेरो तातो रगत!

हे छद्मभेषी नेताहरू!

मलाई राज्यविप्लवको आरोप लगाऊ,

म च्यात्न चाहन्छु यो असमावेशी संविधान!

सुन्दरहरैंचा -६, दुलारी, मोरङ


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *