देशका विभिन्न सात जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
सांकेतिक तस्बिर एआई
काठमाडौं। देशका विभिन्न स्थानमा प्रहरीले सञ्चालन गरेको नियमित गस्तीका क्रममा लागुऔषधसहित १४ जनालाई पक्राउ गरिएको छ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार मकवानपुरको हेटौँडा उपमहानगरपालिका-११ थानाभर्याङबाट नियन्त्रित लागुऔषध ट्रामाडोलसहित चितवनको राप्ती नगरपालिका–१ का ३२ वर्षीय गोविन्द तामाङ र मकवानपुरको मनहरी गाउँपालिका-३ लामिटारका २४ वर्षीय सफल विक्रम राणा पक्राउ परेका हुन्।
त्यसैगरी, ललितपुर महानगरपालिका-१८ वाइवाई चोकबाट ट्रामाडोलसहित धादिङको नीलकण्ठ नगरपालिका-५ घर भई ललितपुर चुनिखेल बस्ने २२ वर्षीय नवीन आले मगरसहित दुई जना पक्राउ परेका छन्। उदयपुरको बेलका नगरपालिका-८ कोठुबाट नाइट्राजेपामसहित बेलका-४ प्रगति टोलका २१ वर्षीय सरोज बर्देवा नियन्त्रणमा लिइएका छन्।
उता कञ्चनपुरको बेलौरी नगरपालिका-१ फटैया खल्लाबाट ब्राउनसुगरजस्तो देखिने पदार्थसहित पुनर्वास नगरपालिका-११ डोकेबजारका ३० वर्षीय विशाल विक र कैलालीको जोशीपुर गाउँपालिका-९ का २२ वर्षीय कुशल चौधरी पक्राउ परेका छन्। यस्तै, झापाको मेचीनगर नगरपालिका-२ बाट खैरो हेरोइनजस्तो देखिने पदार्थसहित मेचीनगर-८ का ३९ वर्षीय मिलन मेचेसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
सुनसरीको इटहरी उपमहानगरपालिका-१ हलगडा चोकबाट ट्रामाडोल र डाइक्लोमाइनसहित मोरङको सुन्दरहरैँचा नगरपालिका-५ सिक्किमे चोकका ३१ वर्षीय पर्शुराम गुरुङ पक्राउ परेका छन् भने इटहरी-२ बरगाछीबाट सोही ठाउँका २८ वर्षीय उज्ज्वल बुढाथोकी पक्राउ परेका छन्। प्रहरीले उनीहरूले प्रयोग गरेका दुई वटा मोटरसाइकलसमेत बरामद गरेको छ।
यसैगरी, तनहुँको भिमाद नगरपालिका-६ शान्तिनगर टोलमा डेरा गरी बस्दै आएका भिमाद-३ जलौदीका ३१ वर्षीय शिव मल्ललाई फेनारगन, डाइजेपाम र बुप्रेनोर्फिनसहित प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेका सबैजनामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment