बनेपामा ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु, बाबुआमा घाइते
काभ्रे। काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु भएको छ।
दुर्घटनामा बालकका बुबा र आमा घाइते भएका छन्। शनिबार बिहान करिब ५:३० बजे काठमाडौंबाट बनेपातर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको ग्यास बुलेटले सोही दिशामा गइरहेको मोटरसाइकललाई ठक्कर दिएको थियो।
दुर्घटनामा मोटरसाइकल चालक खोटाङको ऐँसेलुखर्क गाउँपालिका–६ निवासी २९ वर्षीय चन्द्र बुढाथोकी, उनकी २७ वर्षीया श्रीमती रेणुका राई र ९ वर्षीय छोरा जुवास बुढाथोकी घाइते भएका थिए।
घाइते तीनै जनालाई उपचारका लागि बनेपास्थित शिर मेमोरियल अस्पताल लगिएको थियो। उपचारका क्रममा चिकित्सकले बिहान ६ बजे बालक जुवासलाई मृत घोषणा गरेका थिए।
दुर्घटनामा संलग्न ग्यास बुलेट र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ। ग्यास बुलेटका चालक भारत निवासी करिब ३७ वर्षीय शिवजी रामलाई पनि नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment