तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित चार झोलुङ्गे पुल पुनर्निर्माण गरिने

डिसी नेपाल
५ कार्तिक २०८३ ८:४९
4
Shares

तनहुँ ।  तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको जलाशयबाट प्रभावित हुने चारवटा झोलुङ्गे पुल पुनर्निर्माण गरिने भएको छ। यसका लागि तनहुँ हाइड्रोपावर लिमिटेड र काठमाडौँको थानी काली जोशी संयुक्त उपक्रम (जेभी) बीच ठेक्का सम्झौता भएको छ।

आयोजनाको जलाशय निर्माणका कारण प्रभावित हुने पुलको पुनःस्थापना तथा पुनर्निर्माणका लागि करबाहेक १६ करोड ९७ हजार ३८ रुपैयाँमा सम्झौता गरिएको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिएका छन्।

उनका अनुसार स्थानीयवासीसँगको परामर्शमा उपयुक्त स्थान छनोट गरी पुल पुनर्निर्माण गर्न लागिएको हो। पुल निर्माणका लागि आवश्यक उपकरण तथा सामग्रीसमेत आपूर्ति भइसकेको उनले बताए।

आयोजनाअन्तर्गत चुलेसी, टुनिबोटे, डब्ल्याङ र टुटुवामा चारवटा झोलुङ्गे पुल निर्माण गरिनेछ। जलाशय निर्माणका कारण पुराना पुल प्रभावित हुने भएपछि स्थानीय बासिन्दाको आवतजावत सहज बनाउन नयाँ स्थानमा पुल पुनःस्थापना गर्न लागिएको हो।

पुल पुनर्निर्माणपछि स्थानीयवासीको दैनिक आवागमन सहज हुनुका साथै विभिन्न सेवा तथा सुविधामा पहुँच बढ्ने अपेक्षा गरिएको छ। स्थानीय बासिन्दासँगको परामर्शका आधारमा पुल निर्माणस्थल तय गरिएको आयोजना प्रमुख भण्डारीले बताए।

सम्झौताअनुसार चारवटै झोलुङ्गे पुलको निर्माण २०८५ साल वैशाखभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *