‘ग्लोबल गभर्नेन्स फोरम’मा सहभागी हुन पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान: चिनियाँ नेतृत्वसँग उच्चस्तरीय भेटघाट हुने
काठमाडौं। पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) की वरिष्ठ नेत्री विद्यादेवी भण्डारी उच्चस्तरीय टोलीको नेतृत्व गर्दै आज चीनतर्फ प्रस्थान गरेकी छन्।
चीनको हेबेई प्रान्तस्थित नयाँ पर्यटकीय तथा आधुनिक सहर स्योङआनमा आयोजना हुन लागेको प्रतिष्ठित ‘ग्लोबल गभर्नेन्स फोरम २०२६’ मा विशिष्ट अतिथिका रूपमा सहभागी हुन उहाँ त्यसतर्फ प्रस्थान गरेकी हुन्।
एमालेको सक्रिय राजनीतिमा पुनः फर्किएपछि पूर्वराष्ट्रपति भण्डारीको यो पहिलो औपचारिक विदेश भ्रमण भएकाले पनि यसलाई नेपाल र चीनको कूटनीतिक तथा राजनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ।
अक्टोबर २३ देखि २५ तारिखसम्म आयोजना हुने यस सम्मेलनको मूल विषय ‘परिवर्तनशील विश्वमा विश्वास र सहकार्यको पुनर्निर्माण’ रहेको छ। सम्मेलनमा पूर्वराष्ट्रपति भण्डारीले नेपालका तर्फबाट प्रमुख वक्ताका रूपमा विशेष सम्बोधन गर्नेछिन्।
आफ्नो सम्बोधनका क्रममा उनले परिवर्तनशील विश्व परिवेश, साना तथा विकासोन्मुख राष्ट्रहरूको हित, जलवायु परिवर्तनका चुनौती र बहुपक्षीयताको प्रवर्धनका विषयमा नेपालको स्पष्ट दृष्टिकोण प्रस्तुत गर्ने उनको सचिवालयले जनाएको छ।
यसका साथै सम्मेलनअन्तर्गत अक्टोबर २४ र २५ मा हुने विभिन्न गोलमेच बैठक, प्यानल छलफल तथा समानान्तर सत्रहरूमा राष्ट्रसंघ केन्द्रित अन्तर्राष्ट्रिय प्रणालीको संरक्षण, ग्लोबल साउथका मुलुकहरूको भूमिका, आर्टिफिसियल इन्टेलिजेन्स, साइबर सुरक्षा र हरित विकासका बहुआयामिक विषयमा गहन विचार-विमर्श हुने कार्यक्रम छ।
भ्रमणका क्रममा पूर्वराष्ट्रपति भण्डारीले आयोजक राष्ट्र चीनका उच्चपदस्थ चिनियाँ नेतृत्व, चिनियाँ कम्युनिस्ट पार्टीका प्रतिनिधिहरूका साथै फोरममा सहभागी हुन आएका विश्वका अन्य विभिन्न देशका कूटनीतिक प्रतिनिधिहरूसँग छुट्टाछुट्टै द्विपक्षीय भेटघाट गर्नेछिन्।
विशेष गरी राष्ट्रपति पदमा रहँदा नेपाल-चीन सम्बन्धलाई रणनीतिक साझेदारीको उचाइमा पुर्याउन महत्त्वपूर्ण भूमिका खेलेकी भण्डारीको यो भ्रमणले दुई देशबीचको पारस्पारिक सम्बन्ध र सहकार्यलाई थप प्रगाढ बनाउने विश्वास गरिएको छ।
उनीसँगै भ्रमण टोलीमा उनका सहयोगी कैलाश भण्डारीलगायतका सदस्यहरू सहभागी छन्। चिनियाँ उच्च विकासको नमुना मानिने स्योङआन क्षेत्रको अवलोकन तथा विभिन्न उच्चस्तरीय भेटघाट सम्पन्न गरी पूर्वराष्ट्रपति भण्डारी आगामी सोमबार स्वदेश फर्कने तालिका रहेको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment