युक्रेन युद्धमा सम्झौता नजिक पुगेको ट्रम्पको दाबी, वर्तमान सीमामै लडाइँ रोक्न जेलेन्स्की तयार
वासिङ्टन डीसी ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीचको लामो युद्ध अन्त्य गर्ने शान्ति सम्झौता पहिलो पटक सम्भावनाको निकै नजिक पुगेको दाबी गरेका छन्।
ह्वाइट हाउसबाट दक्षिण क्यारोलिना प्रस्थान गर्नुअघि पत्रकारहरूसँग कुरा गर्दै उनले हाल वार्ता अत्यन्तै संवेदनशील अवस्थामा रहेकाले रुसमाथि थप कडा प्रतिबन्ध लगाउँदा कूटनीतिक प्रयास प्रभावित हुन सक्ने बताए।
सम्झौताको सकारात्मक सम्भावना बढेका बेला थप प्रतिबन्ध लगाउनु उचित नहुने तर्क गर्दै उनले आवश्यक परे रुसमाथि प्रतिबन्ध लगाउने अधिकार भने अमेरिकासँग सुरक्षित रहेको स्पष्ट पारे।
यसै क्रममा राष्ट्रपति ट्रम्पले इरानविरुद्धको अमेरिकी सैन्य कारबाहीमा रुस र चीनको भूमिका सीमित रहेको दाबी गर्दै दुवै देशले उल्लेखनीय हस्तक्षेप नगरेकामा प्रशंसा गरे। उनले आगामी दिनमा रुस र चीनलाई समेत सहभागी गराएर आणविक निशस्त्रीकरणसम्बन्धी उच्चस्तरीय बैठक आयोजना गर्ने सम्भावनालाई सकारात्मक रूपमा हेरेको बताए।
अर्कोतर्फ युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले पनि युद्ध अन्त्य गर्ने पहलस्वरूप वर्तमान अग्रपङ्क्तिमै (फ्रन्टलाइन) लडाइँ रोक्न र कूटनीतिक वार्ता अघि बढाउन युक्रेन तयार रहेको घोषणा गरेका छन्।
फक्स न्युजसँगको कुराकानीमा उनले युद्धविराम भएपछि युक्रेनको भविष्यका लागि अमेरिका र युरोपेली राष्ट्रहरूबाट ठोस सुरक्षा प्रत्याभूति खोजिने बताए।
डोनबास क्षेत्र त्यागेर युद्ध अन्त्य गर्ने सम्भावनाबारे सोधिएको प्रश्नमा राष्ट्रपति जेलेन्स्कीले रुसले युद्धमैदानमा ठुलो विजय हासिल गरिरहेको दाबीलाई पूर्ण रूपमा अस्वीकार गरे। उनले वर्तमान युद्धक्षेत्रको वास्तविक अवस्थालाई नै आधार बनाएर तत्काल वार्ता सुरु गर्नुपर्ने र त्यसैबाट व्यापक शान्ति योजना अघि बढाउन सकिने धारणा राखे।
यसैबीच, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका वरिष्ठ सहयोगी युरी उशाकोभले अमेरिकी राष्ट्रपति ट्रम्प र पुटिनबीच चीनमा आयोजना हुने आगामी एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका क्रममा प्रत्यक्ष भेटवार्ता हुन सक्ने सम्भावना रहेको बताएका छन्। यस कूटनीतिक सरगर्मीले वर्षौँदेखि जारी युक्रेन युद्ध चाडै अन्त्य हुने आशा जगाएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment