यस वर्षको दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल घट्यो

डिसी नेपाल
६ कार्तिक २०८३ ९:५५
4
Shares

चितवन। भोटेकोशी र बूढीगण्डकीमा आएको बाढीपछि मुख्य राजमार्गमा अवरोध हटे पनि पुनः वर्षा भएर सडक अवरुद्ध हुने त्रासका कारण यस वर्षको दसैँमा चितवनको प्रमुख पर्यटकीय गन्तव्य सौराहामा आन्तरिक पर्यटकको आगमन घटेको छ।

गत वर्ष जेनजी आन्दोलनका कारण दसैँमा पर्यटकको चहलपहल कम भएको थियो। अघिल्ला वर्षमा भने दसैँ बिदाको समयमा सौराहालगायतका पर्यटकीय क्षेत्रमा आन्तरिक पर्यटकको उल्लेख्य भीड लाग्ने गरेको थियो। तर, यस वर्ष दसैँको समयमा अपेक्षाअनुसार पर्यटक नआएको पर्यटन व्यवसायीले बताएका छन्।

क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष ओमप्रकाश पाण्डेका अनुसार सौराहास्थित उनको होटल ल्याण्डमार्कमा बिहीबार ७५ वटा कोठामध्ये सातवटा मात्रै बुकिङ भएका थिए। उनले सौराहासँगै पोखरामा समेत विगतका वर्षको तुलनामा आन्तरिक पर्यटकको आगमन कम रहेको बताए।

वर्षाका कारण सडक पुनः अवरुद्ध हुन सक्ने आशङ्का तथा भोटेकोशी र बूढीगण्डकीमा आएको बाढीबाट भएको ठूलो जनधनको क्षतिले पनि यस वर्ष दसैँको उत्साह कम भएको पाण्डेको भनाइ छ। यद्यपि, बाढीपछि स्थगित भएका बुकिङ पुनः हुन थालेको र नयाँ बुकिङसमेत आउन थालेकाले आगामी दिनमा पर्यटकको सङ्ख्या बढ्ने उनले अपेक्षा गरेका छन्।

होटल व्यवसायी सुमन घिमिरेले शुक्रबारदेखि आइतबारसम्म सौराहामा पर्यटकको चहलपहल बढ्ने विश्वास व्यक्त गरे। दसैँको बिदाका कारण आगामी दिनमा होटलहरू भरिभराउ हुनेमा आफूहरू आशावादी रहेको उनले बताए। उनका अनुसार सौराहामा पर्यटकको आगमन क्रमशः बढ्दै जाने र पर्यटनको मुख्य सिजनमा उच्च बिन्दुमा पुग्ने गर्छ।

होटल भिष्टाका सञ्चालक रमेश सिलवालले पनि दसैँसँगै आन्तरिक पर्यटकको आगमन बढ्ने अपेक्षा गरेका छन्। दसैँको समयमा केही विदेशी पर्यटक सौराहा आएको र भारतीयसहित अन्य देशका पर्यटकले समेत सोधपुछ तथा बुकिङ गर्न थालेको उनले जानकारी दिए।

यस वर्ष आन्तरिक पर्यटकको बुकिङ कमजोर भए पनि विदेशी पर्यटकको आगमनमा भने सुधार देखिएको व्यवसायीको भनाइ छ। भोटेकोशी बाढीका कारण यसअघि बुकिङ रद्द हुँदा पर्यटन व्यवसायीले ठूलो आर्थिक नोक्सानी व्यहोर्नुपरेको थियो।

वनबास रिसोर्ट सौराहाका महाप्रबन्धक प्रकाश न्यौपानेका अनुसार पछिल्ला तीन दिन उनको होटल विदेशी पर्यटकले भरिएको थियो। जर्मनी, डेनमार्क, बेल्जियम, अस्ट्रेलिया र अमेरिकाबाट पर्यटक आएको उनले बताए। नेपाल आएका विदेशी पर्यटक पुनः सौराहा घुम्न आउन थालेको उल्लेख गर्दै उनले आगामी दिनमा पर्यटकको सङ्ख्या बढ्ने विश्वास व्यक्त गरे।

चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वारका रूपमा रहेको सौराहा निकुञ्ज घुम्न आउने पर्यटकको प्रमुख बसाइस्थल हो। निकुञ्ज तथा आसपासका मध्यवर्ती सामुदायिक वनको भ्रमणमा आउने पर्यटक सौराहामा बस्ने गर्छन्। यसबाहेक भरतपुरका पटिहानी, जगतपुर र मेघौली क्षेत्र पनि पर्यटकका आकर्षक गन्तव्य हुन्।

यी क्षेत्रबाट पर्यटकले हात्ती, जिप, डुङ्गा तथा पैदल सफारीमार्फत निकुञ्ज र मध्यवर्ती वनको भ्रमण गर्ने गर्छन्। एकसिङ्गे गैँडा र पाटेबाघलगायत दुर्लभ वन्यजन्तुको अवलोकनका लागि पनि चितवनमा पर्यटक आउने गरेका छन्। वन्यजन्तु सफारी, प्राकृतिक सौन्दर्य र थारू संस्कृतिका कारण चितवन देशकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *