मलेखुको झोलुङ्गे पुलमा मोटरसाइकलको चाप, पैदलयात्रुलाई सास्ती

डिसी नेपाल
८ कार्तिक २०८३ १०:२९
8
Shares

धादिङ। त्रिशूली नदीमा आएको बाढीले फुर्केखोलाको पुल बगाएपछि वैकल्पिक मार्गका रूपमा प्रयोग भइरहेको मलेखुको झोलुङ्गे पुलमा मोटरसाइकलको चाप बढेको छ।

दसैँ मनाएर काठमाडौं, पोखरा र चितवन फर्किने यात्रुको सङ्ख्या बढेसँगै पुल पार गर्न लामो समय पालो कुर्नुपर्ने अवस्था सिर्जना भएको छ। मोटरसाइकलको भीडले पैदलयात्रुलाई समेत आवतजावत गर्न कठिन भएको छ।

बेनिघाट रोराङ गाउँपालिका–३ स्थित त्रिशूली नदीमाथिको झोलुङ्गे पुलमा एक पटकमा एउटा मात्रै सवारीसाधन आवतजावत गराउन सूचना राखिएको छ। तर, एकै पटक धेरै मोटरसाइकल र स्कुटर पुलमा प्रवेश गर्दा पैदलयात्रुलाई हिँड्नसमेत पर्याप्त ठाउँ नहुने गरेको छ।

समाजसेवी शिवराज सापकोटाले पुलमा बढ्दो सवारी चापले दुर्घटनाको जोखिम बढाएको भन्दै सुरक्षाकर्मी वा स्थानीय प्रशासनको उपस्थिति आवश्यक रहेको बताएका छन्। मोटरसाइकल र पैदलयात्री एउटै साँघुरो पुलबाट आवतजावत गर्नुपर्दा जोखिम बढेको उनको भनाइ छ।

धादिङबाट चितवन फर्कँदै गरेका मोटरसाइकल चालक अभिषेक अधिकारीले पुल पार गर्न आधा घण्टाभन्दा बढी घाममा पालो कुर्नुपरेको बताए। पुलको सुरक्षाबारे चिन्ता भए पनि अर्को विकल्प नहुँदा यही बाटो प्रयोग गर्न बाध्य भएको उनले सुनाए।

दसैँअघि स्थानीय युवाले पुलको प्रवेशद्वारमा बसेर एक पटकमा एउटा मात्रै मोटरसाइकल प्रवेश गराउने व्यवस्था मिलाएका थिए। तर, दसैँपछि फर्किने यात्रुको चाप बढेसँगै आवागमन व्यवस्थापन गर्न कठिन भएको छ।

गत भदौ १० गते आएको बाढीले धादिङबेँसीलाई पृथ्वी राजमार्गसँग जोड्ने फुर्केखोलाको पुल बगाएको थियो। त्यसयता धादिङ सदरमुकाम तथा आसपासका क्षेत्रमा आवतजावत गर्ने मोटरसाइकल चालकले त्रिशूली नदीमाथिको मलेखुस्थित झोलुङ्गे पुललाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्दै आएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *