म्यानमारको मन्डालेमा ब्रेक फेल भई एक्सप्रेस बस र भ्यान ठोक्किएर खोल्सामा खस्दा ६ जनाको मृत्यु, १२ घाइते
मन्डाले (म्यानमार)। म्यानमारको मन्डाले क्षेत्रमा शनिबार साँझ भएको एक भीषण सडक दुर्घटनामा परी कम्तीमा ६ जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन्।
म्यानमारको अग्नि सेवा विभागका अनुसार ओरालो सडकमा ब्रेक फेल भएको एउटा एक्सप्रेस बस विपरीत दिशाबाट आइरहेको भ्यानसँग ठोक्किएपछि सडकबाट करिब ५० फिट गहिरो खोल्सामा खसेको थियो।
विभागले दिएको जानकारी अनुसार स्थानीय समय अनुसार शनिबार साँझ करिब ६:०५ बजे पिन ओ ल्विन-मन्डाले सडक खण्डको ओरालोमा उक्त दुर्घटना भएको हो। पिन ओ ल्विनबाट मन्डालेतर्फ जाँदै गरेको बसको ब्रेक अचानक फेल भएपछि सामनेबाट आउँदै गरेको भ्यानसँग जुध्न पुगेको थियो।
भ्यानलाई ठक्कर दिएलगत्तै अनियन्त्रित भएको बस सडक छेउको खोल्सामा खसेर पल्टिएको थियो। दुर्घटनाका सम्बन्धमा जानकारी पाउनासाथ स्थानीय अग्नि नियन्त्रक र उद्धारकर्मीहरूको टोलीलाई तत्काल घटनास्थलमा परिचालन गरिएको थियो।
उक्त दुर्घटनामा परी भ्यानका चालकको घटनास्थलमै मृत्यु भएको छ। यस्तै, बसमा सवार कुल २९ जना यात्रुमध्ये पाँच जनाको ज्यान गएको छ भने १२ जना गम्भीर घाइते भएका छन्। घाइतेहरूलाई उद्धार गरी तत्काल उपचारका लागि नजिकैको अस्पताल लगिएको छ।
घटनास्थलमा उद्धार टोलीले दुर्घटनामा परेका तथा बेपत्ता भएका सम्भावित व्यक्तिहरूको खोजी र उद्धार कार्य अझै जारी राखेको अग्नि सेवा विभागले जनाएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment